सोमवार, बैशाख २४, २०८१

कर्णालीमा पहिलोपटक साहित्य महोत्सव हुँदै

  
कर्णाली टाइम्स सोमवार, बैशाख १०, २०८१


सुर्खेत। कर्णाली प्रदेशमा पहिलोपटक ‘लिट्रेचर फेस्टिभल (साहित्य महोत्सव)’ हुँदै छ। फ्युचर नेपालको पठन तथा लेखन अभियान कर्णाली रिडर्स सोसाइटीको आयोजनामा मंगलबार साहित्वय महोत्सव हुन लागेको हो। महोत्सव मंगलबार बिहान ११ बजेदेखि सुरु हुने आयोजक समितिका संयोजक डा. नवराज केसीले जानकारी दिए।
कर्णाली प्रदेशमा पठन संस्कृतिको विकास गर्न साहित्य महोत्सव आयोजना गर्न लागिएको उनले बताए। यसका साथै नेपाली भाषाको उद्गम स्थल कर्णाली प्रदेशमा भाषा, साहित्य र संस्कृतिको विकास गर्न लिट्रेचर फेस्टिभल थालिएको केसीले बताए।
कर्णालीको भाषा, साहित्य र संस्कृतिको विकास, कर्णालीका बारेमा लेखिएका पुस्तकको संकलन तथा प्रदर्शनी, कर्णालीका सर्जक र लेखकहरुको पहिचान, लेखक र पाठकबीचको सम्बन्ध विस्तार, लेखक, पाठक र प्रकाशकबीच अनुभव आदानप्रदान, कर्णालीमा लेख्ने, प्रकाशन गर्ने र पढ्ने परिपाटीलाई प्रेरित गर्ने उद्देश्यका साथ ‘कर्णाली लिट्रेचर फेस्टिभल–२०८१’ आयोजना गर्न लागिएको हो।
फेस्टिवलको पहिलो संस्करण एक दिन मात्र चल्नेछ। मंगलबार फेस्टिभलका क्रममा पहिलो चरणमा पठन संस्कृतिबारे बहस र विमर्श गरिनेछ। कर्णालीका बारेमा लेखिएका विभिन्न पुस्तक प्रदर्शनी, लेखक र पाठकसँग साक्षात्कार, लेखन प्रतियोगिता पनि तय गरिएको छ।
कर्णाली साहित्य महोत्सवमा चारवटा सत्र रहेका छन्। पहिलो सत्र ‘किन पढ्ने, किन लेख्ने?’ शिर्षका हुनेछ। जसमा लेखकहरुले आफ्ना कुरा राख्नेछन्।
‘पठन र नेतृत्व’ शिर्षकमा दोस्रो सत्र हुनेछ। यसमा नेतृत्वमा रहेका मानिसले पढ्न किन जरुरी छ भन्ने विषयमा वहस हुनेछ। यो सत्रमा वीरेन्द्रनगर नगरपालिकाका मेयर मोहनमाया ढकाल र जनमत पार्टीका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य डा. सिके राउत सहभागी हुनेछन्।
तेस्रो सत्रका रुपमा डा. माईकल हटले आफ्नो प्रस्तुति राख्नेछन्। माईकलले नेपाली भाषामा विद्यावारिधी गरेका छन्। हाल कर्णाली प्रदेशको दलित साहित्यका बारेमा अनुसन्धान गरिरहेका छन्।
अन्तिम सत्रका रुपमा ‘कर्णालीमा भाषा, साहित्य र शिक्षा’ विषयमा छलफल हुनेछ। जसमा यहाँको भाषा, साहित्य र शिक्षाको बारेमा विद्यावारिधी गरेका विज्ञहरुले छलफल गर्नेछन्।
महोत्सवमा कविता पनि प्रस्तुत गरिनेछ। जसमा कर्णाली प्रदेशका छोरीहरुले मात्र आफ्ना कविता सुनाउनेछन्।
त्यसपछि अन्तिममा खस भाषाका गजलहरु सर्जकले प्रस्तुत गर्नेछन्।