शुक्रबार, असार २०, २०८२

स्ववियु निर्वाचनविरुद्ध परेको रिट खारेज

  
कर्णाली टाइम्स आइतवार, असोज ६, २०८१


सुर्खेत। मध्यपश्चिम विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका विरुद्ध परेको रिट खारेज भएको छ। भदौ २८ गते तोकिएको स्ववियुको निर्वाचन उच्च अदालत सुर्खेतमा रिट परेपछि अल्पकालिन अन्तरिम आदेश दिँदै अदालतले तत्कालका लागि स्थगित गर्न भनेको थियो।

विश्वविद्यालयको स्कुल अफ साइन्स एण्ड टेक्नोलोजीका पाँचौं सेमेस्टरमा अध्ययनरत रञ्जित विक लगायत विद्यार्थीहरुले मतदाता नामावलीमा आफूहरुको नाम छुटेको भन्दै उच्च अदालत सुर्खेतमा रिट हालेका हुन्।

दुवै पक्षलाई अदालतले आइतबार छलफलका लागि बोलाएको थियो। छलफलपछि उच्च अदालत सुर्खेतका न्यायाधीशद्वय लोहितचन्द्र शाह र माधव धितालको संयुक्त इजलासले उक्त रिट खारेज गरेको हो।

रिट निवेदकले स्ववियु निर्वाचन कार्यविधिअनुसार तोकिएको समयमा नामावलीउपर दावीविरोध नगरेकोले अदालतबाट जारी गरिएको अल्पकालिन अन्तरिम आदेशलाई निरन्तरता दिनु नपर्ने भनिएको छ।

उच्चको यो आदेशसँगै अब स्ववियु निर्वाचनका मध्यपश्चिम विश्वविद्यालयले प्रक्रिया अघि बढाउनेछ।
स्ववियु निर्वाचन निर्देशिका, २०८१ बमोजिम ३० असारमा प्रकाशित भएको मतदाता नामावलीमा आफ्नो नाम नसमेटिएको भन्दै भदौ २७ गते विद्यार्थीहरुले रिट हालेका थिए।

सोही दिन अदालतले तत्कालका लागि निर्वाचन रोक्न भन्दै अल्पकालिन अन्तरिम आदेश जारी गरेको थियो।