बिहीबार, कार्तिक ८, २०८१

राउटेलाई प्रदेश सरकारले दियो खाद्यान्न

  
कर्णाली टाइम्स मंगलबार, चैत्र १८, २०७६


सुर्खेत ।
कोरोना भाइरसको जोखिमबाट बच्न सरकारले गरेको ‘लकडाउन’का कारण खाद्य संकटमा परेका राउटे समुदायलाई कर्णाली प्रदेश सरकारले खाद्यान्न दिएको छ । स्थायीरुपमा एकठाउँमा नबस्ने, जंगलमा फिरन्ते जीवन विताउने यो समुदायलाई उनीहरु बसोबास गरेको भेरीगंगा नगरपालिकाको समन्वयमा कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले खाद्यान्न उपलब्ध गराएको हो । अहिले उनीहरु भेरीगंगा नगरपालिका–२ स्थित सत्तरीको छिन्चु खोला किनारमा बस्दै आएका छन् ।

आफुलाई जंगलको राजा भनेर चिनाउने उनीहरु आफूले बनाएका काठका भाँडा विक्री गरेर गुजारा चलाउँदै आएका थिए । तर कोरोना भाइरसका कारण लकडाउन भएपछि उनीहरु खाद्य संकटमा परेकाहुन् ।
लकडाउनका कारण राउटे समुदायमा खाद्यान्न संकट उत्पन्न भएको भन्ने नगरपालिका बाट जानकारी आएपछि खाद्यान्न उपलब्ध गराइएको सामाजिक विकास मन्त्रालयका महिला तथा बालबालिका अधिकृत अनिता ज्ञवालीले बताइन् । मन्त्रालयले राउटे समुदायका ४६ घरलाई एक–एक बोरा चामल, दुई–दुई केजी दाल, दुई–दुई लिटर तेल र दुई–दुई केजी नुन उपलब्ध गराएको छ ।

भेरीगंगा नगरपालिकाले राउटे बस्ती पनि पुर्णरुपमा ‘लकडाउन’ गरेको छ । कोरोना संक्रमण फैलिन नदिनका लागि राउटे समुदायलाई बस्तीभन्दा बाहिर आउन दिइएको छैन् भने बाहिरका व्यक्तिहरुलाई पनि राउटे समुदायको बस्ती प्रवेशमा प्रतिवन्ध लगाइएको छ । ‘बस्तीमा आउने व्यक्तिहरुबाट मागेर, काठका भाँडा विक्री गरेर गुजारा चलाउने यो समुदाय अहिले समस्यामा छ,’ भेरीगंगा नगरपालिकाका प्रमुख भुपेन्द्रबहादुर चन्दले भने, ‘यो संकटको बेला उनीहरुलाई राज्यका सबै निकायले सहयोग गर्नु अति आवश्यक छ ।’
नगरपालिकाले स्वास्थ्य र सरसफाईका क्षेत्रमा काम गरिरहेको छ । ‘कोरोना संक्रमण रोक्नका लागि नगरपालिकाबाट साबुन–पानीले हात धुन, शौचालय प्रयोग गर्न सिकाउँदैछौं,’ उप्रमुख रेनु आचार्यले भनिन्, ‘रोगको संक्रमण फैलिन नदिनका लागि बाह्य व्यक्तिहरुलाई बस्तीमा प्रवेश दिएका छैनौं ।’
सामाजिक विकास मन्त्रालयले लकडाउन अवधिभर राउटे समुदायलाई आवश्यक खाद्यान्न उपलब्ध गराइने बताएको छ ।