शनिबार, कार्तिक १०, २०८१

कर्णाली आइपुग्यो ११ हजार ७८० जनालाई पुग्ने कोरोना विरुद्धको खोप, आज जिल्लाहरुमा ढुवानी गरिँदै

  
कर्णाली टाइम्स मंगलबार, माघ १३, २०७७

सुर्खेत । कर्णाली प्रदेशमा पहिलो चरणमा लगाउने तयारी गरिएको कोरोना विरुद्धको खोप सोमबार आइपुगेको छ । भारतले अनुदानमा उपलब्ध गराएको कोरोना विरुद्धको खोपमध्ये कर्णालीका लागि ११ हजार ७८० जनालाई पुग्ने खोप आइपुगेको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
स्वास्थ्य निर्देशनालयका निर्देशक डा. रविन खड्काका अनुसार यहाँ पनि उक्त खोप भोलिदेखि लगाउन सुरु गरिनेछ । ‘पहिलो चरणमा स्वास्थ्यकर्मी, सरसफाइकर्मी, संक्रमितको शव व्यवस्थापनमा खटिने सुरक्षाकर्मी, एम्बुलेन्स चालक र महिला स्वास्थ्य स्वयंसेविकालाई खोप दिइने छ,’ निर्देशक खड्काले भने, ‘दोस्रो चरणमा भने सदरमुकाम बाहिर पनि खोप लगाइने छ ।’
सोमबार आइपुगेको कोरोना विरुद्धको खोप आज हिमाली जिल्लाहरुमा हवाईजहाजमार्फत ढुवानी गरिँदै छ । प्रदेशका हिमाली जिल्ला हुम्ला, जुम्ला, मुगु र डोल्पाको लागि नेपालगन्जबाट हवाइमार्गमा र अन्य जिल्लामा सुर्खेतबाट स्थलमार्ग हुँदै खोप पठाउन लागिएको खड्काले जानकारी दिए ।
१० दिनभित्र पहिलो डोज लगाइने र पहिलो डोज लगाएको ४ हप्तापछि दोस्रो डोज लगाइने डा. खड्काले बताए । पहिलो र दोस्रो डोजको लागि करिब २४ हजार खोप आइपुगेको उनले जानकारी दिए ।
पहिलो चरणमा सुर्खेतका लागि २ हजार ७८१, दैलेखका लागि २ हजार, जुम्लाका लागि १ हजार ७०२, कालीकोटका लागि १ हजार २१, जाजरकोटको लागि १ हजार १४५, सल्यानको लागि १ हजार १२३, मुगुको लागि ५४७, डोल्पाको लागि ५११, रुकुम पश्चिमको लागि ५०० र हुम्लाको लागि ४५० डोज कोरोना विरुद्धको खोप माग गरिएको थियो ।
पहिलो चरणमा फ्रन्टलाईनर्सलाई खोप लगाइसकेपछि दोस्रो चरणमा सुरक्षाकर्मी, सञ्चारकर्मी तथा तेस्रो चरणमा नागरिकलाई खोप लगाउने तयारी गरिएको छ ।