शनिबार, कार्तिक १०, २०८१

प्रचण्ड–नेपाल समूहको हड्तालमा मुख्यमन्त्री शाहीले जनाए ऐक्यवद्धता

  
कर्णाली टाइम्स बिहीबार, माघ २२, २०७७


सुर्खेत । प्रचण्ड–नेपाल समूहको नेकपाले गरिरहेको आम हड्तालमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले पनि ऐक्यवद्धता जनाएका छन् । आमहड्तालकै बचिमा बिहिवार दिउँसो ३ बजे सुर्खेतको वीरेन्द्रनगरस्थित मंगलगढी चोकमा पुगेर मुख्यमन्त्री शाहीले हड्तालमा ऐक्यवद्धता जनाएका हुन् ।
उनले मंगलगढीमा पुगेर हड्तालमा सहभागी प्रचण्ड–नेपाल समूहका नेता तथा कार्यकर्तालाई सम्बोधन समेत गरेका छन् ।
सम्बोधनका क्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमका विरुद्ध देशभर हड्ताल गर्नुपरेको बताए । ‘अहिलेको यो व्यवस्थालाई च्यालेन्ज दिनेगरी चालिएको कदमका विरुद्ध देशभर आन्दोलन गर्नुपरेको हो,’ मुख्यमन्त्री शाहीले भने, ‘यो कदमलाई जबसमम सच्याइँदैन, हामीले यस्ता आन्दोलन जारी राख्नुपर्छ ।’
प्रचण्ड–नेपाल समूहले सरकारलाई दबाव दिनका लागि शान्तिपूर्ण हड्ताल गरेको उनले बताए । अहिले नेपाली जनताको मुख्य जिम्मेवारी हालको लोकतान्त्रिक व्यवस्थाको रक्षा गर्नु भएको बताए ।
‘अहिलेको लोकतन्त्र ल्याउने क्रममा धेरै मानिस घाईते भए, धेरैले रगत बगाए । केही जनताले यातना सहनुप¥यो,’ मुख्यमन्त्री शाहीले भने, ‘यसरी प्राप्त भएको अहिलेको नयाँ संविधान र लोकतान्त्रिक व्यवस्थाको रक्षा हामी गर्छौं र हामी कुनै पनि हालतमा यो व्यवस्थालाई खोस्न दिदैनौं । उनले प्रधानमन्त्री ओलीले अहिलेको लोकतान्त्रिक व्यवस्थामाथि बलात्कार गरेको टिप्पणी गरे ।
आन्दोलनबाट जनतालाई आवतजावत गर्न तथा विकास निर्माणमा पर्न गएको असरलाई समस्याको रुपमा बुझ्न नहुने मुख्यमन्त्री शाहीको भनाई छ । ‘यो आन्दोलन परिस्थितिले सिर्जना गरेको हो, कसैको चाहनामा यो आन्दोलन भएको होईन ।’ शाहीले भने ।
उनले अहिलेको प्रतिगमनमा लागेको सरकारलाई दबाव दिनकै लागि नेपाल बन्द गरेर आन्दोलन गर्नुपरेको बताए ।