बुधबार, कार्तिक १२, २०८२

सुर्खेत उद्योग वाणिज्य संघको चुनाव प्रक्रिया रोक्न उच्च अदालतको अल्पकालिन आदेश

  
कर्णाली टाइम्स शुक्रबार, चैत्र १८, २०७८


सुर्खेत। उच्च अदालत सुर्खेतले सुर्खेत उद्योग वाण्ज्यि संघको निर्वाचन प्रक्रिया रोक्न अल्पकालिन आदेश जारी गरेको छ। शुक्रबार बसेको अदालतका कायममुकायम मुख्य न्यायाधीश शेषराज सिवाकोटीको एकल ईजलासले चैत २४ गतेसम्मका लागि चुनावी प्रक्रिया रोक्न आदेश जारी गरेको हो।
निवेदक र विपक्षी दुवै पक्षको कुरा सुनेर निश्कर्षमा पुग्ने भन्दै तत्काल निर्वाचन प्रक्रिया अघि नबढाउन आदेश दिईएको हो। यही चैत २४ गते दुवै पक्षलाई बहसका लागि समेत उच्च अदालतले बोलाएको छ।
व्यवसायी सुरेन्द्रकुमार मल्लले बिहिवार सुर्खेत उद्योग वाणिज्य संघका बहुमत कार्यसमितिले चैत २६ गते घोषणा गरेको निर्वाचन रोक्न आदेश माग गर्दै उच्च अदालतमा रिट हालेका थिए।
अदालतले निवेदकलाई पनि निर्वाचन रोक्न आदेश जारी गर्नुपर्नेभए १५ दिनभित्र कारणसहित प्रमाण पेश गर्न भनेको छ।
सुर्खेत उद्योग वाणिज्य संघमा व्यवसायीहरुका मागका विषयलाई लिएर पछिल्लो समय विवाद भईरहेको छ। व्यवसायीका माग सम्बोधन गर्ने विषयमा संघभित्रका पदाधिकारीहरु नै दुई धारमा उभिएका छन्।
विधानअनुसार सदस्यता खारेज भएका व्यवसायीहरुले कोभिड महामारीका कारण आफूहरुले नविकरण गर्न नपाएको भन्दै विशेष व्यवस्थामार्फत सदस्यतालाई निरन्तरता दिन माग गरेका छन्।
विधानमा भने दुई आर्थिक बर्षसम्म लगातार नविकरण गर्न छुटेका सदस्यता खारेज हुने व्यवस्था छ।
सुर्खेत उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्षसहितका केही पदाधिकारी तथा सदस्यहरु व्यवसायीको माग सम्बोधन गर्नुपर्ने पक्षमा छन्। अध्यक्षलगायतका पदाधिकारी भने व्यवसायीको यो माग पूरा नगर्ने अडानमा छन्।
विवादपछि सुर्खेत उद्योग वाणिज्य संघको कार्यालयमा अहिले पनि तालाबन्दी छ।

यो पनि पढ्नुहोस्:

सुर्खेत उद्योग वाणिज्य संघमा विवादः सहमतिविपरित एकलौटी निर्वाचन तालिका सार्वजनिक