बिहीबार, बैशाख ६, २०८१

वैदेशिक रोजगारमा अलपत्र परेर फर्केकालाई फाउण्डेशनले सहयोग गर्ने

  
कर्णाली टाइम्स मंगलबार, फागुन २७, २०७६


जगतदल जनाला विक
सुर्खेत। वैदेशिक रोजगारका क्रममा अंगभङ्ग भई अलपत्र अवस्थामा स्वदेश फर्किएका व्यक्तिहरुको सहयोगको लागि कार्यक्रम सञ्चालन गरिने भएको छ । फस्ट नेपाल फाउण्डेशनले कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट कार्यक्रमको सुरुवात गर्न लागेको हो ।
वैदेशिक रोजगारको क्रममा अंगभङ्ग भई अलपत्र अवस्थामा स्वदेश फर्केका युवाहरुलाई सक्षम र आत्मनिर्भर बनाउने उद्देश्यले यो कार्यक्रम सञ्चालन गर्न लागिएको फाउण्डेशनकी ब्राण्ड एमबास्डर सन्तोषी शाही ठकुरीले जानकारी दिइन् । ‘वैदेशिक रोजगारको क्रममा अंगभंग भएका नेपालीहरुको उद्धार तथा सहयोगको लागि यो कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।’उनले भनिन्, ‘स्वदेश फर्केका त्यस्ता व्यक्तिहरुलाई मनोपरामर्शका साथै सीपमूलक तालिम दिई व्यवसायमा निश्चित रकम सहयोग गरिने छ ।’ शाहीका अनुसार अंगभंग भई स्वदेश फर्केका व्यक्तिहरुको तथ्याङ्क संकलन गरिने र सिमान्तकृत, अति विपन्न र राज्यको पहुंचभन्दा बाहिर रहेका त्यस्ता युवाहरुको जीविकोपार्जनको लागि सीपमूलक तालिम दिई व्यवसायमा सहयोग गरिनेछ ।
कर्णाली प्रदेशका अधिकांश युवाहरु वैदेशिक रोजगारीका लागि बाहिर देशमा जाने र कतिपय युवाहरु अंगभंग भएर स्वदेश फर्किने गरेका कारण पनि यो कार्यक्रम प्रभावकारी हुने फाउण्डेसनको विस्वास छ । ‘न्युन आर्थिक अवस्थाका व्यक्तिहरु ऋण लिएर विदेशमा जान्छन् र त्यहाँबाट दुःख पाएर आउँछन् उनीहरुको जिविकोपार्जनको उपाय नहुँदा समस्या हुने गरेको छ ।’ शाहीले भनिन्, त्यस्ता व्यक्तिहरुलाई यो फाउण्डेसनले सहयोग गर्नेछ ।

फाउण्डेशनकी ब्राण्ड एमबास्डर सन्तोषी शाही ठकुरी

२०७५ सालमा काठमाडौमा स्थापना भएको फाउण्डेसनले वैदेशिक रोजगारीमा दुःख पाएका व्यक्तिहरुलाई सहयोग गर्दै आएको छ । फाउण्डेशनले हाल नेपालको पूर्वी जिल्लाहरुमा काम गरिरहेको छ । तत्काका लागि वैदेशिक रोजगारबाट स्वदेश फर्किएका व्यक्तिहरुलाई सहयोगकोे सुरुवात गरेको फाउण्डेशनले भविष्यमा विदेशमा नै गएर सहयोग गर्ने पनि योजना बनाएको छ ।