मंगलबार, बैशाख ४, २०८१

वडाध्यक्षमाथि दुरव्यवहार गर्ने पक्राउ

  
कर्णाली टाइम्स बिहीबार, चैत्र ६, २०७६

जगतदल जनाला विक
सुर्खेत । कालिकोटको नरहरिनाथ गाउँपालिका –७ का वडा अध्यक्ष दलबहादुर विश्वकर्मामाथि जातीय छुवाछुत सम्बन्धी दुरव्यवहार गरी कुटपिट गर्नेे दलबहादुर बुढालाई प्रहरीले पक्राउ गरेको छ । सोही वडाका बुढा माथि वडाध्यक्ष विकले मंगलवार जिल्ला प्रहरी कार्यालय कालिकोटमा उजुरी दर्ता गराएपछि बुधवार बुढालाई पक्राउ गरि अनुसन्धान भइरहेको कालिकोट जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी श्यामबावु ओलियाले बताए । ‘जातीय छुवाछुत तथा भेदभावपूर्ण व्यवहार सम्बन्धी जाहेरी आएपछि हामीले बुधवार पक्राउ गरि अदालतबाट अनुसन्धानका लागि ७ दिनको म्याद थप गरिएको छ,’ डिएसपी ओलियाले भने, ‘आरोपीले भेदभाव र हातपात गरेको पुष्टि भए कानुन अनुसार कार्बाही गरिने छ ।’ फागुन २९ गते वडा कार्यलयमै आएर डुम, कमारा भन्दै हातपात तथा अस्लिल गाली गलौज गरेको भन्दै अध्यक्षले उजुरी दिएका थिए । ‘उहाँ दलबहादुर चार÷पाँच वर्षदेखि करारमा वडा कार्यालयमा प्राविधकको काम गर्दै आउनु भएको थियो । सरकारले स्थायी कर्मचारी पठाएपछि उहाँ स्वतः अवकास हुनुभयो,’ विकले भने, त्यहि विषयमा मलाई किन हटाएको भनी गाली गलौज र हातपात गर्नु भयो ।’
वडाअध्यक्ष विकले आफुलाई गाली गलौज र हातपात गरेको अडियो समेत राखेको उजुरीमा बताएका छन् ।
पीडित अध्यक्षलाई कानुनी न्यायका लागि नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ, साझा परियोजना नामक गैरसरकारी संस्थाले सहयोग गरेको जिल्ला संयोजक चित्रवहादुर विश्वकर्माले बताए ।
नेपालको संविधान २०७२ को भाग ३, धारा २४ मा छुवाछुत तथा भेदभावविरुद्धको मौलिक हकमा जातीय भेदभाव विरुद्ध दण्डनिय व्यवस्था गरेको छ । जातिय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन २०६८ को दफा ७ मा कसुर र विभेदको अवस्था हेरेर तीन महिनादेखि ३ वर्षसम्म कैद, एक हजारदेखि २५ हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था रहेको छ ।