मंगलबार, बैशाख १८, २०८१

सुर्खेतका दुई युवाले बनाए वाक थ्रो स्यानिटाइजर गेट

  
कर्णाली टाइम्स शनिबार, बैशाख ६, २०७७

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा दुई युवाले सुविधा सम्पन्न वाक थ्रो स्यानिटाइजर गेट बनाएका छन् । कोरोना त्रासलाई मध्यनजर गर्दै स्यानिटाइजर गेट निर्माण गरिएको हो ।
प्रविधियुक्त स्यानिटाइजर गेटको निर्माण गरि नगरपालिकालाई शनिबार हस्तान्तरण गरेको युवा वैज्ञानिक श्याम कुमार विष्टले बताए ।
कोरोना भाईरस नियन्त्रण तथा रोकथामका लागि प्रत्येक व्यक्तिमा हुने किटाणुको संक्रमण नियन्त्रण गर्न नेपालमैं पहिलो पटक सुर्खेत निवासी युवा श्याम कुमार विष्ट (साइन्स फिजिक्स) र राजेन्द्र विष्ट (बायो केमिस्ट) ले नेपालमै पहिलो पटक सोलार जडित अत्याधुनिक वाक थ्रो स्यानिटाइजर गेट निर्माण गरेको उनीहरुको दाबी छ ।
सुर्खेत साइस एण्ड सर्जिकल र सुर्खेत वायु केमिकल एण्ड आइजिन इण्डस्ट्रिका सञ्चालक समेत रहेका दुई भाईले वीरेन्द्रनगर नगपालिका स्वास्थ्य शाखाको निर्देशन, प्रत्यक्ष निगरानी र सल्लाहमा निर्माण गरी नगरपालिकालाई निःशुल्क हस्तान्तरण गरेका हुन् ।
‘कार्यालय वा घरमा प्रवेश गर्ने व्यक्तिहरुलाई सुरक्षित बनाउने स्यानिटाइजर गेट आफ्नै सृजना र मौलिकतामा निर्माण गरेका हौं,’ विष्टले भने,’ आवत जावत बढी गर्ने घर कार्यालयमा गेटले सोलारको सहायताबाट मोटरपम्प प्रयोग गरेर नोजलबाट केमिकल स्प्रे गर्छ ।
विष्टका अनुसार मेसिनको प्रयोग गरी दैनिक हजारौंको सख्यामा सेनिटाइजर प्रयोग गर्न सक्नेछन् ।
यो गेटमा जाने र फर्किने गरि दुईवटा प्रवेशद्धार रहेका छन् ।
ढोकाभित्र प्रवेश गर्दा मेसिनमा रहेको सेन्सरले मोटर स्टार्ट गर्दछ र सोलारको सहायताले ट्याङ्कीमा रहेको केमिकल वास्विकरण विधिबाट व्यक्तिलाई पूर्ण रुपमा सेनिटाईज गराउन सकिने अर्का युवा निर्माणकर्ता राजेन्द्र विष्टले जानकारी दिए ।
यसमा प्रयोग भएको मुख्य केमिलक विश्वभर प्रयोग हुँदै आएको डिसइन्फयाक्टेन्ट रुपमा रहेको सोडियम हाइपोक्लोराईटको प्रयोग गरिएको उनको भनाइ छ । सोलार सिस्टमको जडान गर्दा ८० हजार, विद्युतिय सिस्टम जडान गर्दा ६० हजार लागत लाग्ने उक्त प्याकेजमा ५० लिटरको केमिकल हस्तान्तरण हुने जनाइएको छ ।
यसका बारेमा थप जानकारी लिनुपरेमा ९८४८१६०१०५ र ९८५८०५२९२४ मा सम्पर्क राख्न उनीहरुले आग्रह गरेका छन् ।
वीरेन्द्रनगर नगरपालिकाकी उपप्रमुख मोहनमाया ढकालले मेसिनको सहायताले स्यानिटाइजर प्रयोग गरि नगरपालिकामा आउने सेवाग्राही तथा कर्मचारीहरुलाई कोरोनाको संक्रमणबाट बच्न यस्तो प्रविधिको प्रयोग गरेको बताइन् ।