सोमवार, पुस १५, २०८१

कालिकोटमा पहिरोले घर पुरिँदा ६ जनाको मृत्यु, दुई बेपत्ता

  
कर्णाली टाइम्स बुधबार, साउन १४, २०७७

              फाइल फोटो ।

सुर्खेत । कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिकाकामा पहिरोले घर बगाउँदा ६ जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन् ।
मंगलबार राति साढे दुई बजेतिर आएको पहिरोले नरहरिनाथ गाउँपालिका–७ बाँगाका गंगे बुढाको घर पहिरोले पुर्दा ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका डिएसपी श्यामबाबु ओलियाले जानकारी दिए ।

डिएसपी ओलियाका अनुसार पहिरोले घर पुर्दा ६५ वर्षीय गंगे बुढा, उनकी श्रीमती ६१ वर्षीया नैना बुढा, २४ वर्षीया बुहारी कुशा बुढा, १० वर्षीया नातिनी चन्द्रीका बुढा, सात वर्षीय नाति राम बुढा, डेढ वर्षीय नाति चरित्र बुढाको मृत्यु भएको हो । ‘गंगे बुढाको ११ जनाको परिवार मध्ये घर बगाउने समयमा चार जना भाग्न सफल भए, पहिरोले घरसँगै बगेका मध्ये १६ वर्षीया विमला बुढाको उद्दार गर्न सफल भयौं,’ डिएसपी ओलियाले भने, ‘बाँकी छ जनाको मृत्यु भयो ।’ उद्दार गरिएकी विमलाको कुमालगाउँ स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

यस्तै नरहरिनाथ गाउँपालिका–४ को माझगोठीमा बाले बुढाको घर भत्कदाँ दुई जना बेपत्ता छन् । गाउँपालिका अध्यक्ष धीरबहादुर विष्टका अनुसार अहिले पनि वर्षा नरोकिएकाले उनीहरुको खोजीकार्य हुन सकेको छैन् । नरहरिनाथकै खुलालु बजार पनि बाढीले बगाएको छ ।