सुर्खेत। दैलेखमा धारिलो हतियार प्रयोग गरी हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार बिहिबार दुल्ले नगरपालिका–१३ का ४३ बर्षीय भुवनसिंह विकलाई पक्राउ गरिएको हो।
विकले सोही वडाका ५६ बर्षीय कर्णबहादुर कामीलाई धारिलो हतियार हसिया प्रहार गरी हत्या गरेको आरोप छ।
बुधबार बेलुका साढे पाँच बजेतिर उनले कर्णबहादुरमाथि धारिलो हतियार प्रयोग गरेको दैलेखका प्रहरी प्रमुख डिएसपी सुनिल दाहालले जानकारी दिए।
हतियार प्रहारपछि गम्भीर घाईते भएका कर्णबहादुरलाई उपचारका लागि दुल्लु अस्पताल लगिएको थियो। उनको उपचारका क्रममा अस्तालमा मृत्यु भएको डिएसपी दाहालले जानकारी दिए।
भुवनसिंहलाई घटनास्थलबाटै पक्राउ गरिएको हो। प्रारम्भिक सोधपुछका क्रममा कर्णबहादुर धामी भएको र उनले आफूमाथि ‘टुनामुना’ लगाएर बिरामी पारेको भन्दै हतियार प्रहार गरेको बुझिएको प्रहरीले जनाएको छ।