बिहीबार, कार्तिक ८, २०८१

राउटेले लगाए पहिलो पटक माक्स

  
कर्णाली टाइम्स बिहीबार, चैत्र २०, २०७६

सुर्खेत ।  भेरीगंगा नगरपालिका–२ को सत्तरी छिन्चु खोलामा बस्दै आएका राउटे समुदायले पहिलो पटक माक्स लगाएका छन् । बुधबार उनीहरुको स्वास्थ्य जाँच गरेपछि माक्स लगाएका हुन् ।
कोरोना भाइरसको जोखिमबाट बच्नका लागि उनीहरुको स्वास्थ्य परिक्षण र माक्स वितरण गरेको गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज वलीले बताए । ‘ कोरोना रोगको बारेमा उहाँहरुलाई जानकारी दिएपछि माक्स लगाउन रुचि हुनुभयो,’ अध्यक्ष वलीले भने, ‘हप्तामा कम्तीमा दुई पटक उनीहरुको स्वास्थ्य जाँच गर्ने गरेका छौं ।’ उनका अनुसार लोपोन्मुख राउटे जाति बचाउन गाउँपालिकाले विभिन्न निकायसँग समन्वय गरि निगरानी बढाइएको बताए ।
कुनै बेला बजारका रेडिमेट सामग्रीहरु प्रयोग नगर्ने राउटे समुदायले पहिलो पटक सहजै रुपमा माक्स लगाएका छन् ।
कोरोना नलागोस् भनेर माक्स लगाइएको राउटे महामुखिया मैनबहादुर शाहीले बताए । समुदायका सबै जना एउटै ठाउँमा बस्ने र जँगलमा डुल्ने भएकोले पनि आफूहरुलाई माक्स र अन्य सरसफाई आवश्यक रहेको बताउँदै उपलब्ध गराएकोमा गाउँपालिका र अन्य सरकारवालालाई धन्यवाद दिए ।
महामुखिया शाहीले आफ्ना जनतालाई रोगबाट बच्नका लागि मास्क सधैँ लगाउन र सरसफाईमा ध्यान दिन सुझाव दिएको बताए ।

राउटे समुदायका एक सय ५१ जनालाई बुधबार थर्मल गनमार्फत ज्वरो जाँच गरिएको हो । उनीहरुको ज्वरो जाँच गरेपनि ज्वरो नदेखिएको अनमी सुमन काफ्लेले बताइन् ।
राउटे समुदायलाई दैलेखको गुराँस गाउँपालिकाले परिचयपत्र दिई स्थाई बासिन्दाकारुपमा भत्ता पनि वितरण गरिरहेको छ ।
गाउँपालिकाले राउटेको स्वास्थ्य जाँचका गरि माक्स पनि वितरण गरेको छ । प्राय घुमीरहने फिरन्ते जाति राउटेलाई कोरोना संक्रमण रोक्नका लागि माक्स वितरण गरिएको छ । राउटे समुदाय आफ्नो स्वास्थ्य प्रति निकै सचेत र सहज भएको स्वास्थ्य जाँचमा सहभागी स्वास्थ्यकर्मीले बताएका छन् ।
कोरोनाबाट बच्नका लागि राउटे बस्ती पनि लकडाउन गरिएको छ । उनीहरुलाई बाहिर जान र बाहिरबाट आएका व्यक्तिहरुलाई बस्तीमा जान पनि निषेध गरिएको छ ।