शनिबार, बैशाख १५, २०८१

रुकुम घटनाको विरोध गर्दै सुर्खेतमा प्रदर्शन (फाेटाेफिचर)

  
कर्णाली टाइम्स सोमवार, जेष्ठ १९, २०७७

सुर्खेत । पश्चिम रुकुमको चौरजहारी–४, सोतीमा भएको घटनाको सुर्खेतमा विरोध भएको छ । सोमबार बिहान दलित अधिकारवादी संघसंस्थाको संयोजनमा निस्किएको जुलुसले वीरेन्द्रनगर बजार परिक्रमा गर्दै दोषिमाथि कडा कारबाहीको माग गरेको छ ।

जुलुसपछि आयोजित कोणसभा बोल्ने वक्ताहरुले जातीय अहंकार र भेदभावकै कारण उक्त घटना भएको बताउँदै राज्यले निष्पक्ष रुपमा अनुसन्धान गर्नुपर्ने बताए । ‘चुल्हो छोएको नाम होस् वा अन्तरजातीय प्रेमको नाममा दलितहरु मारिइरहेका छन्,’ छोरी बचाउ अभियानकी संयोजक सजना सुनारले भनिन्, ‘दलितहरु दलित भएकै कारण कहिलेसम्म मारिनुपर्ने हो ?’

त्यस्तै दलित अधिकारवादी खगेन्द्र सुनारले जातभातकै आधारमा प्रेममा बन्देज लगाउनुका साथै अन्ततः हत्या गरिएको बताए । ‘प्रेम र समानताको लागि रुकुम घटना कालो दिन बनेको छ,’ उनले भने, ‘दलितमाथिको यो जघन्य अन्याय कहिलेसम्म भइरहने हो ?’

गत जेठ १० गते भएको सोती घटनामा गाउँलेको कुटाइबाट ५ जनाको मृत्यु भएको छ भने एकजना बेपत्ता छन् । प्रहरीले घटनामा संलग्न भएको आरोपमा १८ जनालाई पक्राउ गरेको छ । किटानी जाहेरीमा नाम उल्लेखित दुईजना फरार रहेका प्रहरीले जनाएको छ । लकडाउनका बाबजुद रुकुम घटनाको विरोधमा देशभर विरोध प्रदर्शन भइरहेको छ ।

  •   तस्बिरहरू : जगतदल जनाला विक