शुक्रबार, चैत्र १६, २०८०

कर्णाली प्रदेश संसदीय समितिमा ४ जनाको उम्मेदवारी

  
कर्णाली टाइम्स शनिबार, असार २७, २०७७

सुर्खेत । कर्णाली प्रदेशसभाका संसदीय समितिहरुको निर्वाचनमा ४ जनाको उम्मेद्वारी परेको छ । प्रदेशसभा गठन भएको २७ महिनापछि निर्वाचनमार्फत नेतृत्व चयन गर्न प्रदेशसभामा ४ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
असार २८ गते दिउँसो १ बजे हुने निर्वाचनका लागि ४ जनाको उम्मेदवारी दर्ता भएको कर्णाली प्रदेशसभाका सह–सचिव वीरेन्द्रबहादुर केसीले बताए ।
अर्थ तथा प्राकृतिक स्रोत समितिको अध्यक्षमा नेकपाका प्रदेशसभा सदस्य गणेशप्रसाद सिंह, विधायन तथा प्रदेश मामिला समितिको अध्यक्षमा नेकपा प्रदेशसभा सदस्य दानसिंह परियार, सामाजिक विकास समितिको अध्यक्षमा नेकपा कै देवी ओली र सार्वजनिक लेखा समितिको अध्यक्षमा नेपाली कांग्रेसका सांसद दीनबन्धु श्रेष्ठ मनोनयन दर्ता गराएको सह–सचिव केसीले बताए ।
यसभन्दा अघि विषयगत समितिहरुको बैठक अहिलेसम्म ज्येष्ठ सदस्यको अध्यक्षतामा बस्दै थियो ।
कर्णाली प्रदेशसभा नियमावली २०७४ को नियम १४८ अनुसार समितिको अध्यक्ष पदको निर्वाचन गर्न लागिएको सचिवालयले जानकारी दिएको छ ।
कर्णाली प्रदेश सभामा चारवटा संसदीय समिति छन् । हाल ज्येष्ठताको आधारमा अर्थ तथा प्राकृतिक स्रोत समितिको अध्यक्षता नेकपाका प्रदेशसभा सदस्य अम्मरबहादुर थापा, विधायन तथा प्रदेश मामिला समितिको अध्यक्षता नेकपाका पदमबहादुर रोकाय, सामाजिक विकास समितिको अध्यक्षता नेकपाकै सांसद राजु नेपाली र सार्वजनिक लेखा समितिको अध्यक्षता नेपाली कांग्रेसका सांसद दीनबन्धु श्रेष्ठले गर्दै आएका थिए ।