शुक्रबार, बैशाख ७, २०८१

बाबुको पहिचान नभएको स्वघोषणा गरे आमाको नामबाट नागरिकता पाइने

  
कर्णाली टाइम्स आइतवार, जेष्ठ ९, २०७८


सुर्खेत । सरकारले नागरिकता ऐन-२०६३ संशोधन गर्न जारी गरेको अध्यादेशमा आमाको नामबाट मात्र वंशजको नागरिकता पाउन बाबुको पहिचान नभएको स्वघोषणा गर्नुपर्ने उल्लेख छ। ‘नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिको हकमा, निजको बाबुको पहिचान हुन नसकेको व्यहोराको निजले वा निजका आमाले गरेको तोकिए बमोजिमको स्वघोषणा गरे’ आमाको नामबाट वंशजकै नागरिकता पाउने अध्यादेशमा भनिएको छ।
तर त्यस्तो व्यक्तिको आमाको मृत्यु भइसकेको वा होस ठेगानमा नरहेको प्रमाण देखाएर निवेदकले नै बावुको पहिचान नभएको स्वघोषणा संलग्न गरे पनि उसले वंशजको आधारमा नागरिकता पाउनेछ। यो व्यवस्था संसदको राज्यव्यवस्था समितिले छलफल गरेर टुंग्याएको नागरिकता सम्बन्धी विधेयककै व्यवस्था हो। समितिले टुंगाएर संसदमा पेश गरेको विधेयकमा ‘तोकिएबमोजिमको’ भन्ने शब्दावली नरहेको एक सांसदले बताए।
यो व्यवस्थाले आमाको नामबाट नागरिकता पाउन बाबुको पहिचान अनिवार्य गर्छ र यसले महिलाको नागरिकको स्वतन्त्र हैसियत नकार्छ भनेर महिला सांसद तथा महिला अधिकारकर्मीहरूले विरोध गर्दै आएका छन्। संविधानले आमा वा बाबुको नामबाट नागरिकता दिने उल्लेख गरेको छ। त्यसैले जसरी बाबुले आफ्ना सन्तानलाई आफ्नो नामबाट मात्र नागरिकता दिलाउन सक्छन्, आमाले पनि त्यसरी नै आफ्ना सन्तानलाई नागरिकता दिलाउन पाउनुपर्ने उनीहरू बताउँछन्।
अहिले आएको अध्यादेशले आमाको नामबाट वंशजको नागरिकता दिन तीनवटा सर्त तोकेको छ।
पहिलो, नेपालमै जन्म भएको हुनुपर्‍यो।
दोस्रो, नेपालमै बसोबास गरेको हुनुपर्छ।
तेस्रो, बाबुको पहिचान नभएको हुनुपर्छ।
यी सर्त पूरा भए पनि सरकारले तोकेको भाषामा स्वघोषणा गर्नुपर्ने हुन्छ। अब स्वघोषणा कस्तो हुनुपर्छ भनेर सरकारले बनाउने नागरिकता सम्बन्धी नियमावली वा निर्देशिकामा तोकिने छ।
बाबुको पहिचान नभएको भन्दै गरेको स्वघोषणा गलत ठहरिएमा त्यस्ता व्यक्तिलाई एक वर्षदेखि तीन वर्षसम्मको कैद सजाय वा एक लाखदेखि तीन लाखसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने अध्यादेशमा उल्लेख छ। झुटो स्वघोषणाबाट नागरिकता लिइएको ठहरे रद्द हुने व्यवस्था अध्यादेशमा छ।
यसरी आमाको नामबाट नागरिकता लिएको व्यक्ति पछि विदेशी बाबुको सन्तान ठहरियो भने उसको वंशजको नागरिकता रद्द हुने व्यवस्था पनि अध्यादेशमा गरिएको छ। त्यस्ता व्यक्तिले बाबुको देशको नागरिकता नलिएको भनेर तोकिए बमोजिमको स्वघोषणा गरे अंगीकृत नागरिकता पाउने अध्यादेशमा उल्लेख छ।
तर नेपाली बाबु र विदेशी आमाबाट जन्मेको सन्तानले वंशजको नागरिकता पाउँछन्। यो संविधानकै व्यवस्था हो। सेतोपाटी