सोमवार, मंसिर १७, २०८१

कर्णालीका परीक्षा केन्द्रमा हेल्थ डेक्स राखिने

  
कर्णाली टाइम्स बुधबार, चैत्र ५, २०७६


सुर्खेत। बिहीवारबाट सञ्चालन हुने यस वर्षको प्रवेशिका परीक्षा (एसईई) मा केन्द्रमा कोरोना भाइरस संक्रमणको जोखिमलाई लक्षित गर्दै हेल्थ डेक्स राखिने भएको छ ।
कर्णाली प्रदेशका कुल ७६ परीक्षा केन्द्रमा हेल्थ डेक्स राखिने भएको हो । कर्णाली प्रदेश शिक्षा निर्देशनालयले एसईईको सम्पूर्ण तयारी पूरा भएको बताउँदै नजिकैको स्वास्थ्य संस्थाबाट स्वास्थ्यकर्मीको सहयोगमा परीक्षार्थीको स्वास्थ्य जाँच गराइने जनाएको छ । ‘केन्द्रबाटै स्थानीय तहहरु संगको समन्वयमा प्रत्येक परीक्षा केन्द्रमा हेल्थ डेस्क राख्नुपर्ने निर्देशन अनुसार तयारी गरिएको छ,’ निर्देशनालयकी निमित्त निर्देशक दिपा हमालले भनिन्, ‘ नजिकैको स्वास्थ्य संस्थाकोे सहयोगमा स्वास्थ्य चेकजाँज गर्ने छौं ।’ कर्णालीबाट ३७ हजार २३ परीक्षार्थी सहभागी हुने भएका छन् ।
निर्देशनालयका अनुसार रूकुुमपश्चिमबाट तीन हजार १४ जना, सल्यानबाट चार हजार नौ सय, जाजरकोटबाट चार हजार दुई सय ११, कालिकोटबाट तीन हजार नौ सय ४०, जुम्लाबाट दुुई हजार पाँच सय ७३ परीक्षार्थी परीक्षामा सहभागी हुँदै छन् । त्यस्तै, हुम्लाबाट एक हजार ३७, मुगुबाट एक हजार चार सय ४३, डोल्पाबाट सात सय २०, दैलेखबाट पाँच हजार पाँच सय ७२ र सुर्खेतबाट आठ हजार सात सय ११ परीक्षार्थी सहभागी हुने निर्देशनालयकी निमित्त निर्देशक दीपा हमालले जानकारी दिइन् ।

कुन जिल्लामा कति परीक्षा केन्द्र
कर्णाली प्रदेशका दश जिल्लामा एक सय ७६ परीक्षा केन्द्र तोकिएका छन् । सुर्खेतमा ३२, दैलेखमा २४, जाजरकोटमा २१, सल्यानमा २३, रुकुमपश्चिममा २३, हुम्लामा ६, जुम्लामा १६, कालिकोटमा २०, मुगुमा ७ र डोल्पामा ४ वटा केन्द्र तोकिएको हो । सबै ठाउँमा प्रश्न–पत्र, उत्तरपुस्तिका पठाइसकिएको निर्देशनालयले जनाएको छ । परीक्षा शान्त र मर्यादित गराउन केन्द्राध्यक्षहरूलाई अभिमुखीकरण गरिएको छ ।