शुक्रबार, जेष्ठ ४, २०८१

कर्णाली प्रदेश सरकारको विपद् कोषलाइ कुमारी बैंकले दियोे १० लाख

  
कर्णाली टाइम्स बुधबार, चैत्र १९, २०७६

सुर्खेत । कर्णाली प्रदेश सरकारले स्थापना गरेको ५० करोडको विपद् व्यवस्थापन कोषमा दिनप्रतिदिन सहयोग रकम जुटिरहेको छ । बुधबार कुमारी बैंकले उक्त कोषका लागि १० लाखको चेक हस्तान्तरण गरेको छ । कुमारी बैंक सुर्खेत शाखाका प्रबन्धक हिमालय प्रसाद मुडभरीले १० लाखको चेक प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही, आर्थिक मामिला मन्त्री प्रकाश ज्वाला र आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीलाई हस्तान्त्रण गरेका हुन् ।
मुख्यमन्त्री शाहीले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकार, निजी क्षेत्र र आम नागरिकको सहयोग आवश्यक रहेको भन्दै सहयोग गर्न अपिल गरे । सोही अवसरमा राष्ट्रिय अपाङ्ग महासंघ कर्णाली प्रदेशले पनि ५१ हजार १ सय ५१ रुपैयाँ सहयोग हस्तान्तरण गरिएको थियो ।
यस अघि सोमबार मात्रै उक्त कोषमा १२ लाख ५० हजार रकम जम्मा भएको छ । सिटिजन्स बैंक सुर्खेतले ७ लाख, सिद्धार्थ वहुउद्देश्यीय सहकारी संस्था लि. सुर्खेतले २ लाख, नेपाल मगर संघ जिल्ला समन्वय समिति सुर्खेतले २ लाख, सिद्धार्थ सञ्चार सहकारी संस्था सुर्खेतले ७५ हजार, लगनशील महिला लघु उद्यमी सहकारी संस्था लि. सुर्खेतले ५० हजार र सिद्धार्थ नेशनल एकेडेमीले २५ हजार गरी जम्मा १२ लाख ५० हजार जम्मा भएको छ । त्यसैगरी उक्त कोषमा सिद्धार्थ बैंक सुर्खेतले १० लाखको चेक हस्तान्तरण गरेको थियो भने प्रदेशमा सम्पूर्ण मन्त्री, मुख्यमन्त्रीको सचिवालयका कर्मचारीहरुले एक महिनाको तलव जम्मा गर्ने घोषणा गरेका थिए ।