सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको वडा–१० मा म्याद सकिएको चामल दिएपछि स्थानीयले फिर्ता गरेका छन् । म्याद सकिएको खाद्यान्नलाई राहतका नाममा वितरण गरिएको भन्दै स्थानीयले विरोध समेत गरेका छन् ।
वडा नम्वर–१० को कार्यालयले खाद्य व्यवस्था तथा व्यापार कम्पनी सुर्खेतबाट खरिद गरेको चामल म्याद सकिएको भेटिएको हो ।
म्याद सकिएको र राहत चामल खान नमिल्ने भएपछि शुक्रबार नै फिर्ता पठाएको मनिकापुर टोल विकास समितिका सदस्य बालाराम शर्माले बताए । ‘यस टोलका १६ जना गरिब तथा विपन्न समुदायले पाएका राहत खाद्यान्न म्याद सकिएको र खान अयोग्य भन्दै अहिले फिर्ता गरेका छन् ।’ शर्माले भने, खाना पकाएर खाँदा समेत गन्हाउने भएपछि फिर्ता गराइएको हो ।’
यता खाद्य व्यवस्था तथा व्यापार कम्पनी सुर्खेतका प्रमुख भीम थापाले चामलमा समस्या भए फिर्ता गर्न तयार रहेको बताए ।
वडा कार्यालयले ४ जनाभन्दा बढी परिवार हुनेलाई ३० केजी चामल, दुई किलो दाल, एक केजी नुन र आधा लिटर तेल दिने मापदण्ड बनाएको थियो । त्यस्तै चार जनाभन्दा कम परिवार हुनेलाई १५ केजी चामल, एक केजी दाल एक केजी नून र आधा लिटर तेल वितरण गरेको थियो ।