सोमवार, बैशाख २४, २०८१

डोल्पाका डाक्टरको विस्वास नमानेपछि, सुत्केरीलाई हेलिकप्टरमा सुर्खेत ल्याइयो

  
कर्णाली टाइम्स बिहीबार, बैशाख ४, २०७७


सुर्खेत । नेपाली सेनाको हेलिकप्टरमा डोल्पाकी एकजना सुत्केरीको उद्दार गरिएको छ ।
जिल्लाको त्रिपूरासुन्दरी नगरपालिका –७ बर्ष २० की विपना रोकायालाई जिल्ला प्रशासन डोल्पाको पहलमा सुर्खेत प्रदेश अस्पताल ल्याइएको हो ।
डाक्टरले गर्भवती रोकायाको पेटमा रहेको बच्चा उल्टो रहेकोले शल्यक्रिया गर्नुपर्ने भनेपछि आफन्तले गर्भवतीको जिम्मा लिएर मात्रै शल्यक्रिया गर्नुपर्ने अडान लिएपछि जिल्ला अस्पताल डोल्पामा शल्यक्रिया गर्न नसकेको स्वास्थ्य सेवा प्रमुख डाक्टर सिजन रावलले जानकारी दिए । रावलका अनुसार जिल्ला अस्पतालमा शल्यक्रियाको लागि सबै तयारी थियो तर गर्भवतीको जिम्मेवारी लिएर शल्यक्रिया गर्न भनेपछि शल्यक्रिया नभएको हो ।
गर्भवतीका आफन्तले डाक्टरको विस्वास नमानेपछि सुर्खेत लगिएको रावलको भनाई छ । जिल्ला अस्पतालकोे रेफर नल्याई सुत्केरीलाई सुर्खेत ल्याएएको डाक्टरहरुको आरोप छ । अहिले सम्म जिल्ला अस्पतालमा दर्जनौ शल्यक्रिया सफल भएपनि आफन्तको अविस्वासका कारण सुर्खेत लिनु परेको डाक्टर रावल बताउँछन् ।
गर्भवतीका आफन्त र स्वास्थ्यचौकी त्रिपूराकोटको अनुरोधमा एक आमा र बच्चाको ज्यान जोगाउन उद्धारको पहल गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । हालसम्म डोल्पाबाट मात्रै यस बर्ष सुत्केरी तथा गर्भवती महिलाको हेलिकप्टर मार्फत १५ जनाको उद्धार भैसकेको छ । त्यस मध्ये दुई जनाको भने मृत्यू भएको हो । उकरण अभावकै कारण पनि आपतमा हेलिकप्टरबाट अन्य ठाउँमा ल्याउनुपर्ने बाध्यता छ ।