बिहीबार, माघ ३, २०८१

बैंक ऋणको व्याज मिनाहा गर्न माग

  
कर्णाली टाइम्स बिहीबार, बैशाख १८, २०७७
मागपत्र पढेर सुनाउँदै स‌घका महासचिव लक्ष्मण कँडेल

सुर्खेत । सुर्खेत उद्योग वाणिज्य संघले लकडाउन अवधिभरको बैंकऋणको व्याज पूर्ण रुपमा मिनाहा गर्न सरकारसँग माग गरेको छ । संघले बिहीबार सुर्खेतका प्रमुख जिल्ला अधिकारीमार्फत संघीय अर्थ मन्त्रीलाई मागपत्र बुझाउँदै यस्तो माग गरेको हो ।

‘पुरानो धितो जमानीको आधारमा न्यूनतम व्याजदरमा थप ५० प्रतिशत पुनर्कर्जा दिने व्यवस्था मिलाइनुपर्छ,’ मागपत्रमा भनिएको छ, ‘बन्दाबन्दी हटेको ६ महिनापछि मात्र मुल्य अभिवृद्धि कर, आयकर तथा अन्य शुल्क बुझाउने व्यवस्था मिलाइनुपर्छ ।’

संघका अध्यक्ष धनबहादुर रावत र महासचिव लक्ष्मण कँडेलद्धारा हस्ताक्षरित मागपत्रमा लकडाउनको कारण बन्द भएका उद्योग प्रतिष्ठानलाई नगद अनुदान दिन सरकारसँग माग गरिएको छ । संघले लकडाउन अवधि सम्मको श्रमिक तथा कर्मचारीको तलव भुक्तानीका लागि ५० प्रतिशत आर्थिक अनुदान दिन पनि माग गरेको छ । लकडाउनले पारेको प्रभावबारे विस्तृत अध्ययन गरी राहत सहयोगको प्याकेज निर्धारण गर्न निजी क्षेत्रको समेत प्रतिनिधित्व हुने गरी उच्चस्तरीय समिति गठन गर्न माग गरिएको छ । ८ बुँदे मागपत्रमा राज्यले उठाउनुपर्ने शुल्क तथा करहरु मिनाहा वा छुट गर्न माग गरिएको छ । साथै घरधननीलाई मात्र व्ययभार नपर्ने गरी लकडाउन अवधिको घरभाडा मिनाहाका लागि नीतिगत व्यवस्था मिलाउन माग गरिएको छ ।