शुक्रबार, बैशाख २१, २०८१

वन्यजन्तुलाई असुरक्षित बन्दै काँक्रेविहार, ३ महिनामा ४ जरायो मृत भेटिए

  
जगतदल जनाला विक आइतवार, जेष्ठ ४, २०७७
काँक्रेविहार गेटमा भेटिएकाे जरायाेलाइ ज‌गलमा छाेड्नकाे लागि लगिँदै

सुर्खेत । चैत पहिलो साता वीरेन्द्रनगर–९, पातलगंगामा एउटा जरायो मृत अवस्थामा भेटियो । सोही महिनाको अन्त्यमा वीरेन्द्रनगर–१० को घुस्रा नजिकै खेतबारीमा अर्को जरायो मृत भेटियो ।

यी दुई मृत जरायोले काँक्रेविहारमा वन्यजन्तु जोखिममा छन् भन्ने देखाउँछ । पछिल्लो समय नेपालको एकमात्र संरक्षित वनको रुपमा रहेको काँक्रेविहार वन्यजन्तुको लागि असुरक्षित बन्दै गएको छ । तारबार नहुँदा चोरीसिकारी हुने गरेको स्थानीय बासिन्दा बताउँछन् । वन्यजन्तुहरु बाहिरसमेत आउने गरेका छन् । यसले सुरक्षामा थप चुनौती देखिएको छ । वैशाख १ गते बिहान काँक्रेबिहार गेट नजिकै अलपत्र अवस्थामा एक जरायोको बच्चा भेटिएको थियो । लगत्तै सुर्खेतस्थित मोटे ग्याङ्ग नेपालका युवाको अगुवाइ र सुरक्षाकर्मी, वन कर्मचारी र स्थानीय जनप्रतिनिधिको पहलमा उक्त जरायोलाई पुनः काँक्रेविहार जंगलमै छोडिएको थियो ।

शुक्रबार करिब ४ वर्ष उमेरको गोली लागेर मृत अवस्थामा एउटा नयाँ जरायो भेटियो । सिकारीले जरायोको सिङसमेत काटेर लगिसकेका थिए । प्रहरी, वन कार्यालय, जनप्रतिनिधिको टोली पुगेर स्थलगत अवलोकन गरि फर्कियो ।

मृत अवस्थामा भेटिएको बँदेल ।

नेपालको दोस्रो लुम्बिनीका रुपमा परिचित काँक्रेबिहार संरक्षित वन क्षेत्रमा पछिल्लो तीन महिनामा ४ वटा जरायोहरु गोली लागेर मृत अवस्थामा भेटिएका छन् । बँदेललगायत अन्य जीवजन्तु गरी करिब १५ वटाको संख्यामा मृत भेटिएका छन् । विशेष गरी लकडाउनको मौका छोपेर चोरीसिकारी र काठ तस्करी बढेको छ । वरिपरि गाउँ र बीचमा जंगल छ । पर्खाल रतारबार गरिएको छैन । तारबार नभएका कारण पनि चरन चर्न, पानी खान जरायो, मृग, बँदेल, घोरल र अन्य जंगली जनावरहरु सिधै गाउँमा आउने गर्छन् । त्यस कारण पनि वन क्षेत्रमा चोरी सिकार बढ्दै गएको काँक्रेबिहार वन संरक्षण समितिका अध्यक्ष तारा रास्कोटले बताइन् । काँक्रेबिहारमा चोरीसिकारीका कारण मृग, चरिबाघ, जरायो, रतुवा, बँदेल, कालिज,बन कुखुरा, घोरललगायत दजनौं पशुपंक्षी लोप हुने अवस्थामा पुगेका उनको भनाइ छ ।

काँक्रेबिहार वन क्षेत्रमा चोरीसिकारी हुँदा त्यहाँका वन्यजन्तु संकटमा परेका वडा नम्वर ९ का वडा अध्यक्ष सुरेश मानन्धरले बताए । ‘हामीले थाहा पाएअनुसार भेटिएका जनावरहरुको उद्धार गरेका छौं,’ उनले भने, संरक्षित क्षेत्रमा पर्खाल, तारबार नभएका कारण बस्ती र जंगल आसपास चोरी सिकारी नियन्त्रण गर्नै समस्या भएको छ ।’ बन्यजन्तुको सुरक्षाका लागि काँक्रेविहारको वरिपरि पर्खाल लगाउन आवश्यक रहेको उनले बताए ।

मृत अवस्थामा भेटिएको जरायाे ।

काँक्रेविहारको प्रवेशद्धारमै वनको कार्यालय छ । लाटिकोइलीमा अस्थाई प्रहरी बिट पनि छ । तर चोरीसिकारीमा संलग्नहरु पक्राउ परेको रेकर्ड छैन । जिल्ला वन कार्यालयका प्रमुख गोविन्द दाहालले लकडाउनको मौका छोपी स्थानीयबासीले चोरीसिकारी गर्ने गरेको बताए । ‘खडेरीको समयमा जरायोहरु आहारका लागि जंगलबाट बाहिर निस्किँदा सिकारीहरुलाई मौका मिलेको छ,’ उनले भने, ‘प्रायः चोरीसिकारी रातको समयमा हुने गरेको छ ।’ काँक्रेविहारमा ५ जना वनरक्षकले गस्ती गर्ने गरेका उनले बताए ।

२१ करोडमा तारबारको काम
बढ्दो चोरी सिकारीकै कारणले काँक्रेबिहारको वरिपरि पर्खाल हाल्न टेण्डर प्रक्रिया अगाडी बढेको छ । लकडाउनको कारणले काम भने अघि बढेको छैन । प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट चालु आर्थिक बर्षमा बहुबर्षीय योजनाअन्तर्गत २१ करोडको लागतमा काँक्रेविहार वरिपरि तारबार गर्ने गरी टेण्डर भएको छ । टेण्डर छनौंट प्रक्रिया लकडाउले अवरुद्ध भएपछि ठेक्का स्वीकृतिको काम रोकिएको हो ।