सुर्खेत । गुर्भाकोट नगरपालिका प्रमुख हस्त बहादुर पुनले विभिन्न चुनौतीका बिच पनि कोरोना बिरुद्धको अभियानमा होमिएको बताएका छन् । भारतबाट आउने नागरिकको संख्या बढेसँगै कोरोनाको महामारी पनि दिनप्रतिदिन बढ्दै जाँदा नगरपालिकाले विभिन्न तयारीहरु गर्दै अगाडी बढेको जानकारी दिए ।
‘पहिला–पहिला भाइरस सम्बन्धी जानकारी नहुँदा काम गर्न असहज भएको थियो,’ मेयर पुनले भने, ‘हाम्राबिच विभिन्न चुनौतीहरु हुँदा हुँदै पनि त्यसको सामना गर्दै कोरोना विरुद्ध लडेका छौं ।’ केन्द्र र प्रदेश सरकारले पनि समयमा सहयोग नगर्दा कोरोना नियन्त्रणका लागि लडिरहेका स्वास्थ्यकर्मीहरुलाई बिना हतियार पनि मैदानमा पठाउन बाध्य भएको मेयर पुन बताउँछन् । विभिन्न विकासे योजनाहरु काटेर भएपनि कोरोना रोकथाममा लगानी गरेको उनको भनाई छ । कोरोना नियन्त्रण समिति मार्फत वडाहरुमा काम गरिरहेको उनले बताए ।
नगरपालिकामा करिब २५ सय जना अट्ने व्यवस्थित क्वारेन्टाइन र ५० बेडको आइसोलेसनको व्यवस्था गरिएको छ । नगरपालिकाले कोरोना नियन्त्रण तथा कोरोना संक्रमणका कारण भारतलगायत तेस्रो मुलुकबाट आएका नागरिकहरुलाई रोजगारमा जोड्ने गरेर आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । कोरोना संक्रमणका कारण रोजगारी गुमेर भारतलगायत तेस्रो मुलुकबाट फर्केका नागरिकहरुलाई सीप अनुसारको रोजगारी दिने गरेर नीति, कार्यक्रम तथा बजेट ल्याइएको मेयर पुनले जानकारी दिए ।
भिडियो हेर्नका लागि यहाँ क्लिक गर्नुहोस्ः