बुधबार, बैशाख १९, २०८१

पहिरोले बगाउँदा रुकुम पश्चिमका दुई जना बेपत्ता

  
कर्णाली टाइम्स मंगलबार, साउन १३, २०७७

सुर्खेत । सोमबार राति अविरल वर्षाका कारण पहिरोले घर बगाउँदा रुकुम पश्चिममा दुईजना बेपत्ता भएका छन् । रुकुम पश्चिम बाँफिकोट गाउँपालिका–९, हस्तबहादुर सुनारको घर पहिरोले बगाउँदा रातिसँगै सुतेको २२ वर्षीय नवीनकुमार र १६ वर्षीय बलहादुर सुनार बेपत्ता भएका हुन् ।
नवीन हस्तका भाई हुन भने बलबहादुर छिमेकी हुन् । प्रहरीका अनुसार हस्तबहादुरकी आमा घाइते भएकी छिन् । उपचारका लागि उनलाई अस्पताल पु¥याइएको छ । हस्तको घर करिब २५ मिटर तल पहिरोले बगाएको छ । बेपत्ताको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै कालीकोट रास्कोट–१, मुर्मास्थित टप्केबगरमा टेक टमाटाको घरमा माथिबाट पहिरो खसेको छ । मंगलबार बिहान आएको पहिरोमा परिमा उनकी छोरी १८ वर्षीया यशुदा र पाहुना आएकी ८० वर्षीया मैतडा टमाटा घाइते भएकी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता बास्तोलाले जानकारी दिए । उनका अनुसार कालीकोटकै सानीत्रिवेणी–७ बस्ने महावीर शाहीको घरमा पनि पहिरो खसेको छ । घरमा पहिरो खस्दा उनकी १६ वर्षीया छोरी केसपुरा शाही घरमा पुरिएकी छिन् । उनको उद्दार कार्य भइरहेको प्रहरीले जनाएका छ ।

त्यस्तै सोमबार राति आएको वर्षाका कारण रुकुम पश्चिममा पाँचवटा घुम्ती पहिरोले बगाएको छ । बाँफिकोट गाउँपालिका–४, स्थित स्यार्पू दह जाने सडक खण्डमा भएका उक्त घुम्तीहरू पहिरोले बगाएको हो ।

४ नम्बर वडाका सौगात विक, डिलबहादुर परियार, विनोद शाही, शेरबहादुर विक र दलबहादुर विकको घुम्ती पहिरोले बगाएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता राजेशनाथ बास्तोलाले जानकारी दिए । उनका अनुसार सौगातको तीन लाख ५० हजार, डिलबहादुरको दुई लाख, विनोदको ३० हजार, शेरबहादुरको तीन लाख र दलबहादुर एक लाख रूपैयाँ बराबरका सामान पहिरोले बगाएको छ ।
डिलबहादुर परियार, वुद्धि केसी र जनक विकको घर उक्त पहिरोको कारण उच्च जोखिममा रहेको छ । उनीहरुलाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ ।