शनिबार, भदौ २९, २०८१

कांग्रेसका १२ केन्द्रीय विभागमा कर्णालीका ३६ जना मनोनित

  
कर्णाली टाइम्स सोमवार, साउन २६, २०७७
सुर्खेतबाट केन्द्रीय विभागमा मनोनित भएका वित्तीय तथा सहकारी संस्था विभागका उपप्रमुख गोविन्दबहादुर मल्लसहित अन्य विभागका सदस्यहरु

सुर्खेत । नेपाली कांग्रेसले गठन गरेको विभिन्न १२ वटा विभागमा कर्णाली प्रदेशबाट ३६ जना नेता मनोनित भएका छन् । सुर्खेतबाट मात्र ९ जना केन्द्रीय विभागमा परेका छन् । नेपाली कांग्रेसको विधानअनुसार पार्टी सभापति शेरबहादुर देउवाले १० वटा विभागमा आइतबार र दुईवटा विभागमा जेठ १७ तथा जेठ २८ मा मनोनित गरेका हुन् ।

वित्तीय तथा सहकारी विभागको उपप्रमुखमा सुर्खेतका पुराना नेता गोविन्दबहादुर मल्ल छनोट भएका छन् । विभागमा दैलेखका बखत कटुवाल सदस्य भएका छन् । शिक्षा विभागमा नेपाल प्रजातन्त्रवादी प्राध्यापक संघका पूर्व केन्द्रीय उपाध्यक्षसमेत रहेका डा. महेन्द्रकुमार मल्लसहित कालीकोटका शिक्षक दानबहादुर बम छनोट भएका छन् । मल्ल मध्यपश्चिमाञ्चल विश्वविद्यालयका पूर्वरजिष्ट्रारसमेत हुन् ।

संगठन विभागमा सुर्खेतका धर्मराज रेग्मी र भवानी थानीका साथै कालीकोटका कालीबहादुर सहकारी र मुगुका ऐनबहादुर शाही मनोनित भएका छन् । गिरी पार्टीका सुर्खेत जिल्ला कार्यसमितिका पूर्वसचिव हुन् भने थानी कांग्रेसनिकट कर्मचारी संगठनका पूर्वअध्यक्ष हुन् । सहकारी कालीकोट र शाही मुगुका पार्टी पूर्वजिल्ला सभापति हुन् ।

तरुण विभागमा सुर्खेतका डोरप्रसाद शर्मासहित रुकुमका नरबहादुर बिष्ट, दैलेखका राजेशकुमार शाही र कालीकोटका मिनबहादुर बोगटी मनोनित भएका छन् । निर्माण व्यवसायी समन्वय विभागमा कालीकोटकी तारा शाही र दैलेखका शेरबहादुर शाही मनोनित भएका छन् ।

यातायात व्यवसायी समन्यव विभागमा ५ जना परेका छन् । सुर्खेतका इन्द्र रावल, रुकुमका दुधकुमार पुन, हुम्लाका पदमबहादुर शाही, रुकुमका उपेन्द्रबहादुर मल्ल र सल्यानका नेत्रलाल वली सदस्यमा मनोनित भएका छन् । खेलकुद विभागमा सुर्खेतका दीपक राईसहित ४ जना परेका छन् । हुम्लाका बखतबहादुर शाही, रुकुमका शिव आचार्य र कालीकोटका अशोक योगी सदस्यमा मनोनित भएका छन् । स्थानीय तह समन्वय विभागमा हुम्लाका मंगल शाही र मुगुका फन्जोक लामा परेका छन् ।

मुस्लिम विभागमा पनि ३ जना मनोनित भएका छन् । सुर्खेतका सतार बक्स, सल्यानका जवार अलि र दैलेखका इब्राहिम मिया सदस्यमा मनोनित भएका छन् । तराई–मधेश समन्वय विभागमा सुर्खेतका धनिराम सुनार र रुकुमका उपेन्द्रबहादुर मल्ल विभागमा सदस्य भएका छन् । संघीय मामिला तथा प्रदेश समन्वय विभागमा जुम्लाका भक्तबहादुर रोकाया, सल्यानका प्रेमबहादुर डाँगी र रुकुमका लालबहादुर महत तथा वन, वातावरण तथा विपद व्यवस्थापन विभागमा दैलेखका भरत रिजाल, जुम्लाका गोविन्द शाही र जाजरकोटकमा बिनबहादुर सिंह मनोनित भएका छन् ।

यसअघि केन्द्रीय उपसभापतिको अध्यक्षतामा रहने पार्टीको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानमा सुर्खेतका नारायण सापकोटा, कालीकोटका मोतिराज बमलगायत सदस्यमा मनोनित भएका छन् । विनोद चौधरीको अध्यक्षतामा गठन भएका लगानी व्यवस्थापनसम्बन्धी केन्द्रीय विशेष समितिमा सुर्खेतका विष्णुबहादुर खड्का सदस्यमा मनोनित भएका छन् ।