सुर्खेत । जंगली साग खाएर डोल्पामा बिरामी भएकामध्ये ४ जनाको उद्धार गरिएको छ । कामका लागि डोल्पा पुगेका जाजरकोटको नलगाड नगरपालिकाका विभिन्न वडाका ५ जना पुरुष स्थानीय जोक नाम गरेको साग खाएपछि बिरामी परेका थिए ।
डोल्पाका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारअनुसार ३६ वर्षीय गोपाल ओली, १९ वर्षीय नरेन्द्र ओली, १८ वर्षीय अजय ओली, ३३ वर्षीय शिवराज केसी र ३८ वर्षीय टेकबहादुर ओली बिरामी परेका थिए । उनका अनुसार नरेन्द्रबाहेक अरुको उद्धार गरिएको हो ।
उनीहरु माथिल्लो डोल्पाको शे फोक्सुण्डो गाउँपालिका–१, निजालगुम्बामा काम गर्न पुगेका थिए । नरेन्द्रलाई जिल्ला अस्पतालमै उपचारमा राखिएको छ ।
सुर्खेतबाट आएको हेलिकप्टरले २ पटकमा गरी ५ जनालाई निजालगुम्बाबाट जिल्ला सदरमुकाम दुनैसम्म ल्याएको थियो । ४ जना बिरामीलाई हेलिकप्टरमार्फत सुर्खेतस्थित प्रदेश अस्पताल ल्याइएको छ । उनीहरु कामका लागि डोल्पा उक्लिएकाहरु हुन् । सोमबार बेलुकी साग खाएका उनीहरु बिरामी परेपछि राति १ बजेपछि मात्रै जिल्लामा खबर आएको प्रजिअ सुनारले जानकारी दिए ।