बुधबार, बैशाख १९, २०८१

पहुँचकै भरमा लाइसेन्स दिन्छन् भन्ने भ्रम चिर्नुस् : मुख्यमन्त्री शाही

  
कर्णाली टाइम्स बिहीबार, असोज ८, २०७७

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले लाइसेन्स लिन भनसुन र पहुँच चाहिन्छ भन्ने जनस्तरमा फैलिएको भ्रमलाई चिरेर उत्तरदायी र पारदर्शी काम गर्न यातायात व्यवस्था कार्यालय सुर्खेतलाई निर्देशन दिएका छन् ।

बिहीबार नयाँ लाइसेन्स वितरण कार्यक्रममा सहभागी भएका मुख्यमन्त्री शाहीले दलाली र माफियामार्फत लाइसेन्स वितरण गरिँदैन भन्ने सन्देश प्रवाह गर्ने सेवा दिन निर्देशन दिएका हुन् ।

‘नयाँ लाइसेन्स लिन नेपालगञ्ज जानुपर्ने बाध्यताको अन्त्य गर्दै सबै सेवा सुर्खेतबाट प्रवाह गर्दा सेवाग्राहीलाई सहज भएको छ’ मुख्यमन्त्रीले भने, ‘कामको चाप थपिएसँगै उत्तरदायी र पारदर्शी सेवा प्रवाहमा कुनै कञ्जुसाई नगर्नुस् ।’

मुख्यमन्त्री शाहीले सुर्खेतबाटै लाइसेन्स छपाइ प्रक्रिया अघि बढाउन सरकारले गृहकार्य गरेको जनाए ।

‘संघीयताले नागरिकलाई सहज, छिटो र छरितो सेवा प्रवाह गर्ने अधिकार प्रत्यायोजन गरेकाले महिनौं लगाएर काठमाडौंकै भर पर्नुपर्ने बाध्यता अन्त्य गर्ने गृहकार्यमा सरकार लागेको छ’ मुख्यमन्त्रीले भने, ‘नागरिकहरुलाई पारदर्शी सेवा प्रवाह गरेर घरमै लाइसेन्स पु¥याइदिने तयारी अब कार्यालयले गर्नुपर्छ त्यसका लागि सरकारले सक्दो सहयोग गर्छ ।’

गत माघ ६ गतेबाट नयाँ लाइसेन्स सेवा शुरु गरेको कार्यालयले बिहीबार पाँचसय ५३ वटा नयाँ लाईसेन्स वितरण गरिएको प्रमुख आनन्द चपाइँले जानकारी दिए ।

गत माघबाटै सेवा शुरु गरिएपनि छपाइ गर्न काठमाडौं पठाउनु पर्ने र कोभिड–१९ का कारण पनि वितरण प्रक्रिया ढिला भएको चपाइँको भनाई छ ।

उनकाअनुसार नयाँ लाइसेन्सबाट मात्रै ८ लाख ९२ हजार राजश्व संकलन भएको जनाए । कार्यालयले गत आर्थिक वर्षमा १० करोड ७३ लाख राजश्व संकलन गरिएको पनि प्रमुख चपाइँको भनाई छ ।