
सुर्खेत । दाङको लमहीबाट जुम्ला जाँदै गरेको टिपर दुर्घटना हुँदा दुईजना वेपत्ता भएका छन् । मंगलबार राति करिब १० बजेतिर बा ५ ख २१८३ नम्बरको टिपर कालिकोट र दैलेखको सिमानामा पर्ने आठविस नगरपालिका–४ कोटेसल्ला भन्ने ठाउँबाट कर्णाली नदीमा खसेको हो ।
जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार टिपर खस्दा चालक र सहचालक वेपत्ता भएका छन् । टिपरमा सामान कति थियो भन्ने थाह नभएपनि इन्ट्री गर्दा चालक र सहचालक रहेको खुलेको प्रहरीले जनाएको छ ।
कर्णाली राजमार्ग सडकबाट करिब १५० मिटर तल टिपर नदीमा खसेको हो । नदीको बहाव धेरै भएकाले उद्दार कार्यमा समस्या भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायव उपरीक्षक अनुपम श्रेष्ठले जानकारी दिए ।
उद्दारका लागि प्रहरीले प्रयास गरिरहेको उनले बताए । ‘पानीको बहाव धेरै भएकाले नदीमा पस्न सकिएको छैन, टोचन लगाउनका लागि पनि भिर ठाडो भएकाले मिलेको छैन,’ श्रेष्ठले भने, ‘वेपत्ताको खोजी भने जारी छ ।’