सुर्खेत । स्वास्थ्य मन्त्रालयले बंगलादेशबाट ३५ हजार भायल रेम्डेसिभिर औषधी ल्याउने भएको छ। कोरोनाका बिरामीलाई दिइने रेम्डेसिभिरको अभाव हुने देखिएपछि मन्त्रालयले तुरुन्तै बंगलादेशबाट ल्याउने भएको हो।
स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार ३५ हजारमध्ये पहिलो चरणमा सोमबार १० हजार भायल ल्याइने छ। हिमालय एयरले बंगलादेशमा कमर्सियल फ्लाइट गर्दैछ। सोही उडानबाट मन्त्रालयले पहिलो चरणको रेम्डेसिभिर ल्याउने उच्च स्रोतले बतायो।
सरकारसँग २७ हजार भायल रेम्डेसिभिर थियो। तर, अस्पतालहरूले जथाभावी प्रयोग गरेका कारण औषधी अभाव भएको उक्त स्रोतले बतायो। दोस्रो चरणमा २० हजार र तेस्रो चरणमा पाँच हजार भायल रेम्डेसिभिर ल्याइने एक अधिकारीले सेतोपाटीलाई जानकारी दिए।
उनका अनुसार थप १ लाख ३० हजार भायल अनुमति जारी गरिने छ। सो अनुमतिअनुसार औषधी व्यवस्था विभागले रेम्डेसिभिरको खरिद र परिचालनको नेतृत्व गर्ने छ।
यसैबीच, सरकारले तुरुन्तै चीनबाट अक्सिजन सिलिण्डर ल्याउन वाइडबडी जहाज चार्टर गर्ने भएको छ। बाँकी १८ हजार थान स्थलमार्गबाट ल्याइने स्वास्थ्यका ती अधिकारीले बताए।
३१ गते वाइडबडीले सात सय थान सिलिण्डर ल्याउने छ। त्यससँगै १० थान भेन्टिलेटर पनि आउने ती अधिकारीले सेतोपाटीलाई बताए। तीन साताभित्रै दुई हजार सिलिण्डर ल्याउने स्वास्थ्यको योजना छ। चीनबाट धेरै देशले सिलिण्डर लैजाने हुँदा त्यहाँको सप्लायर्सले समय मागेको उनले बताए। ‘अरू देशले पहिले अर्डर गरिसकेका रहेछन्। सप्लायर्सले अहिले सिलिण्डर बनाइरहेका छन्,’ ती अधिकारीले भने।
स्वास्थ्यले २० हजार सिलिण्डर विश्व बैंक र २० हजार युनिसेफसँग मागेको छ। ‘सबैतिरबाट तीन-चार हजार, तीन-चार हजार आए भने हामीलाई पुग्छ,’ उनले भने। उनका अनुसार अहिले सिलिण्डरको अभाव टार्न स्वास्थ्य मन्त्रालय प्रयासरत् छ। यसका लागि शुक्रबार मात्रै मापदण्ड बनाएर सिलिण्डर होल्ड भइरहेका ठाउँबाट फिर्ता ल्याउने प्रक्रिया थालिएको उनले बताए।
अहिले मेडिकल क्षेत्रबाहेक उद्योगमा आठ हजार सिलिण्डर स्टक रहेको बुझिन आएको छ। हाइड्रो पावर, चिनी, चुरा, रोलिङ उद्योगलगायतमा सिलिण्डर प्रयोग हुने गरेका छन्। सेतोपाटी
कर्णाली टाइम्स
शनिबार, बैशाख २५, २०७८