बुधबार, माघ २, २०८१

चौधरी फाउण्डेशनले सुर्खेतमा बनाउने अक्सिजन प्लान्टको लागि वीरेन्द्रनगरको सहकार्य जारी

  
कर्णाली टाइम्स मंगलबार, जेष्ठ ४, २०७८


सुर्खेत । चौधरी फाउन्डेसनले सुर्खेतको वीरेन्द्रनगरमा निर्माण गर्ने भनेको अक्सिजन प्लान्टको लागि वीरेन्द्रनगर नगरपालिकाले सहकार्य जारी राखेको छ । विगत २ सातादेखि फाउण्डेशन र नगरपालिकाबीच सहकार्य जारी रहेको वीरेन्द्रनगर नगरपालिकाका मेयर देवकुमार सुवेदीले बताए ।
चौधरी फाउण्डेशनले सुदूरपश्चिम प्रदेशको धनगढी नगरपालिका र कर्णाली प्रदेशको राजधानी रहेको वीरेन्द्रनगर नगरपालिकामा एक/एक वटा अक्सिजन प्लान्ट स्थापना गर्ने योजना बनाएको छ ।
जसअनुसार फाउण्डेशनले आफ्नो तर्फबाट नगरपालिकाहरुसँग समन्वय गरिरहेको छ । चौधरी फाउण्डेशनले बनाउने प्लान्टबाट दैनिक ४० लिटर क्षमताका १५० सिलिन्डर अक्सिजन भर्न सकिनेछ ।
नेपालको स्वास्थ्य प्रणालीमा दीर्घकालीन महत्व राख्ने केही परियोजनामा फाउन्डेसनले काम गर्ने निर्णय गरेको हो । फाउन्डेसनले देशकै जेठो वीर अस्पतालमा आइसियू वार्ड र अक्सिजन प्लान्ट स्थापना गर्ने भएको छ ।
चौधरी फाउण्डेशनले वीरेन्द्रनगरन गरपालिकामा स्थापना गर्ने अक्सिजन प्लान्टमा ५० प्रतिशत लगानी नगरपालिकाको हुने मेयर सुवेदीले बताए । नगर अस्पताल रहेको कटकुवा तय गरिएको छ । यदि त्यहाँ नभए नगरपालिकाले तोकेको अर्को स्थानमा प्लान्ट बन्ने उनले बताए ।
‘सहकार्यमै भएकाले हामीले अहिले नै कति लागनी भन्न त मिल्दैन, जति लाग्छ त्यसमा नगरपालिकाको पनि ५० प्रतिशत हुन्छ,’ मेयर सुवेदीले भने, ‘अबको केही दिनमा प्लान्ट स्थापना गर्ने कार्य सफल होला भन्ने अपेक्षा हाम्रो पनि छ ।’
चौधरी फाउण्डेशनका सहयोगमा वीरेन्द्रनगर नगरपालिकामा स्थापना गर्ने भनिएको प्लान्टले प्रदेशभरको अक्सिजनको माग पूरा गर्ने अनुमान गरिएको छ ।