बुधबार, माघ २, २०८१

नयाँ सरकारका लागि गरिएको आह्वानविरूद्ध सर्वोच्चमा ६ रिट

  
कर्णाली टाइम्स शुक्रबार, जेष्ठ ७, २०७८

सुर्खेत । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ अनुसारको नयाँ सरकार गठनका लागि गरेको आह्वान संविधानविपरीत भएको भन्दै सर्वोच्च अदालतमा ६ वटा रिट पेश भएका छन्। अधिवक्ता कपिलदेव ढकाल, सन्तोष भण्डारी, राजकुमार सुवाल र रामबहादुर शाहीलगायत ६ जनाले रिट ल्याएको सर्वोच्च प्रशासनले जानकारी दिएको छ । अधिवक्ता शाहीले आफूले दिएको रिट सर्वोच्च अदालते दर्ता प्रक्रियामा पठाएको बताए ।
‘प्रधानमन्त्री बहाल रहेको अवस्थामा अर्को सरकार गठन गर्न नमिल्ने भन्दै मैले रिट दर्ताका लागि पेश गरेको छु । सर्वोच्च प्रशासनले दर्ता प्रकृया थालेको छ,’ उनले भने । संविधानको ७६ (५) बमोजिम सरकार बनाउन आह्वान गर्दै राष्ट्रपति कार्यालयले बिहीबार राति जारी जारी सूचना गैरसंवैधानिक रहेको उनको रिटमा उल्लेख छ ।
‘नयाँ सरकार गठनका लागि त प्रधानमन्त्रीले राजीनामा पत्र दिनुपर्छ नभए संसदबाट विश्वासको मत गुमाएको हुनुपर्छ, प्रधानमन्त्रीको पद रिक्त नभई नयाँ सरकार गठनको आह्वान हुन सक्दैन,’ उनले भने,’राष्ट्रपतिले संविधानको धारा ६१ को ४ बमोजिमको कर्तव्य पालना गर्नुभएको छैन भन्ने कुरा पनि मेरो रिटमा उल्लेख छ।’