मंगलबार, असार १७, २०८२

यस वर्षको एसइई परीक्षा पनि आन्तरिक मूल्यांकनबाटै

  
कर्णाली टाइम्स मंगलबार, जेष्ठ १८, २०७८

सुर्खेत । सरकारले यो वर्षको एसइई परीक्षा पनि आन्तरिक मूल्यांकनबाटै गर्ने निर्णय गरेको छ। सोमबार बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको मन्त्रिपरिषद बैठकले एसइई परीक्षा आन्तरिक मूल्यांकन विधिअनुसार नै गर्ने निर्णय गरेको हो।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा सोमबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो। कोरोना महामारी झन बढ्दै गएकाले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठकै प्रस्तावअनुसार यो निर्णय गरिएको हो।

यसअघि राष्ट्रिय परीक्षा बोर्डले आइतबार एसइई परीक्षा वैकल्पिक विधिबाट सञ्चालन गर्ने अनुमति माग्दै शिक्षा मन्त्रालयलाई पत्र लेखेको थियो। यस वर्षको एसइई जेठ १३ गतेलाई तोकिए पनि बढ्दो करोना महामारीका कारण हुन सकेको थिएन।

गत वर्ष परीक्षा सुरु हुनुभन्दा एक दिनअगाडि एसइई स्थगित गरिएको थियो। गत वर्ष कक्षा १० र १२ का विद्यार्थीले पूरै अवधिसम्म पढ्न पाएका थिए। तर यस वर्ष पूरै अवधि पढ्न पाएका छैनन् र दोहोर्‍याएर अभ्यास गर्न त टाढाकै कुरा, कोर्स नै पूरा हुन सकेको छैन।

गत वर्ष एसइईमा आन्तरिक मूल्यांकनका आधारमा र कक्षा १२ मा ४० प्रतिशत भारको लिखित तथा बाँकी अन्तरिक मूल्यांकनका आधारमा परीक्षा लिइएको थियो ।

कार्यविधिअनुसार गत वर्ष विद्यालयका प्रधानाध्यापक, कक्षा शिक्षक र अनुभवी शिक्षक गरी तीन सदस्यीय मूल्यांकन समितिले पहिलो त्रैमासिक अवधिको मूल्यांकन १० प्रतिशत, दोस्रो त्रैमासिक अवधिको मूल्यांकन ३० प्रतिशत र शैक्षिक सत्रको अन्त्यसम्म निर्धारित सबै विषयवस्तु मूल्यांकन गरी विद्यालयले राष्ट्रिय परीक्षा बोर्डमा पठाएको नतिजा प्रमाणीकरण गरेको थियो ।

कार्यविधि अनुसार मूल्यांकन समितिले बोर्डले तोकेअनुरुप विद्यार्थीको प्राप्तांक शिक्षा विकास तथा समन्वय इकाईमा बुझाएपछि सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाईहरुले उक्त विवरण राष्ट्रिय परीक्षा बोर्डमा पठाएका थिए ।