आइतवार, भदौ २३, २०८१

सुर्खेतको सालकोटमा विशेषज्ञ सेवासहितको घुम्ती स्वास्थ्य शिविर सुरु

  
कर्णाली टाइम्स बिहीबार, असार १७, २०७८


सुर्खेत। पश्चिम सुर्खेतको सालकोटमा विशेषज्ञ सेवा दिन घुम्ती शिविर सुरु गरिएको छ। सालकोट प्राथमिक स्वास्थ्य केन्द्रमा बिहिवारदेखि विशेषज्ञ सेवासहितको घुम्ती स्वास्थ्य शिविर सुरु भएको हो।
सानो उपचारका लागि पनि सदरमुकाम वीरेन्द्रनगर पुग्नुपर्ने अवस्थाको अन्त्य गर्न कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय र कर्णाली प्रदेश अस्पतालको सहकार्यमा तत्कालका लागि पाक्षिक रुपमा विशेषज्ञ सेवा दिन सुरु गरिएको छ। यो सेवा हाललाई १५ दिनको अन्तरालमा निरन्तर चल्नेछ।
सालकोट प्राथमिक स्वास्थ्य चौकीमा विशेषज्ञ सेवा सुरु भएसँगै बराहताल, पञ्चपुरी, चौकुनै गाउँपालिका तथा छिमेकी जिल्लाहरु अछाम, कैलाली र दैलेखका आंशिक नागरिकहरुलाई सेवा लिन सहज हुनेछ।
साउनसम्म पाक्षिक रुपमा र भदौदेखि साप्ताहिक रुपमा विशेषज्ञ सेवासहितको शिविर सञ्चालन गरिने मन्त्रालयले जनाएको छ।
पहिलोपटक हाडजोर्नी तथा नसारोग विशेषज्ञ डा. पदम गिरी र डा. रवीन केसीमार्फत पश्चिम क्षेत्रका नागरिकहरुलाई निशुल्क रुपमा विशेषज्ञ सेवा उपलब्ध गराईएको छ। ‘एकै दिन बिहिवार ५५ जना स्थानीयको चेकजाँच ग¥यौं,’ डा. पदम गिरीले भने, ‘अधिकांसमा हड्डी र नसाको समस्या देखियो।’ विशेषज्ञ स्वास्थ्य शिविरमा आएका बिरामीहरुलाई एक्सरे, ल्यावसहितका सेवा पनि निशुल्क उपलब्ध गराइएको छ।
कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले राजधानीभित्रकै भूगोल भएपनि पश्चिम सुर्खेत स्वास्थ्यका दृष्टिकोणले पछाडि रहेकाले तत्काललाई ‘विशेषज्ञ स्वास्थ्य घुम्ती शिविर’ सञ्चालन गरिएको बताए।
‘कर्णालीका सबै नागरिकहरुलाई घर–आँगनमै विशेषज्ञ सेवा उपलब्ध गराउने सरकारको लक्ष्य छ,’ उनले भने, ‘त्यसको सुरुवात् पश्चिम सुर्खेतको सालकोटबाट गरेका छौं।’ कर्णालीमै उपलब्ध जनशक्तिबाट गाउँघरमा स्वास्थ्य शिविरहरु सञ्चालन गरिने मन्त्री बुढाक्षेत्रीले बताए।