शुक्रबार, पुस ४, २०८२

कक्षा १२ सहित सबै परीक्षा स्थगित गर्न सिफारिस

  
कर्णाली टाइम्स शनिबार, साउन २३, २०७८


सुर्खेत। कोरोना संक्रमण बढ्दै गएकाले कक्षा १२ सहित सबै परीक्षा तत्काल रोक्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) र शिक्षा मन्त्रालयलाई सिफारिस गरेको छ।
स्वास्थ्य मन्त्रालयले विज्ञहरूसँगको छलफलपछि परीक्षा सञ्चालन गर्न उपयुक्त नहुने सिफारिस गरेको हो। मृत्युदर १.५ प्रतिशत पुगेको र संक्रमण दर पनि बढ्दै गएकाले परीक्षा सञ्चालन गर्न नहुने अडान स्वास्थ्य मन्त्रालयले लिएको हो।
विभिन्न विश्वविद्यालय, कक्षा ११, सीटीईभीटीलगायतका परीक्षा भइरहेकाले मन्त्रालयले सबै खाले परीक्षा रोक्न भनेको छ। स्वास्थ्य सचिव डा. रोशन पोखरेलले भने, ‘संक्रमण बढिरहेको छ, यो अवस्थामा परीक्षा लिनु उपयुक्त देखिँदैन।’
यसै विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठबीच समेत छलफल भएको थियो। प्रधानमन्त्री देउवाले समेत अवस्था सामान्य भएपछि र २० वर्षमुनिका किशोर–किशोरीले खोप पाएपछि मात्र परीक्षा सञ्चालन गर्नु उपयुक्त हुने धारणा राखेको मन्त्रालय स्रोतले बतायो।
संसद्को शिक्षा तथा स्वास्थ्य समितिले पनि विद्यार्थीलाई खोप लगाएर, स्वास्थ्य मापदण्ड पूर्णरूपमा पालना गरेर मात्र परीक्षा सञ्चालन गर्न सरकारलाई सुझाव दिएको थियो। विद्यार्थी संगठनले पनि परीक्षा अनुकूल समयमा सार्न माग गरेका छन्। परीक्षा स्थगितको माग गर्दै विद्यार्थी, अभिभावकले सामाजिक सञ्जालमा पोस्ट गरिरहेका छन्।
राज्यमन्त्री श्रेष्ठले कोरोना बढिरहेकाले सबै परीक्षा स्थगन गर्न शिक्षा मन्त्रालय र सीसीएमसीलाई सिफारिस गरेको ट्वीटमार्फत सार्वजनिक गरेका छन्। सीसीएमसीको अनुमतिमा कक्षा १२ को जेठमा स्थगित परीक्षा साउन ३१ देखि सञ्चालन गर्ने तय भएको थियो। करिब ४ लाख विद्यार्थी कक्षा १२ को परीक्षा तयारीमा छन।
राष्ट्रिय परीक्षा बोर्डका एक सदस्यका अनुसार शनिबार बोर्डले निर्णय लिनेछ। स्वास्थ्य मन्त्रालयले सीसीएमसी र शिक्षा मन्त्रालयलाई गरेको सिफारिसपछि टुंगोमा पुग्नका लागि निर्णय गर्न शनिबार ११ बजे बोर्डको बैठक डाकिएको ती सदस्यले जानकारी दिए। कान्तिपुर