बिहीबार, पुस १०, २०८२

द्वन्द्वपीडितलाई निःशुल्क यातायात

  
कर्णाली टाइम्स शुक्रबार, साउन २९, २०७८

सुर्खेत। चौरजहारी नगरपालिकाले द्वन्द्वपीडित तथा विभिन्न लक्षित वर्गलाई नगर बस र एम्बुलेन्स निःशुल्क चढाउने भएको छ। चालु आर्थिक वर्षको २०७८/७९ को नीति तथा कार्यक्रममा उल्लेख भएबमोजिम साउन महिनाबाटै नगरपालिकाले बस भाडा र एम्बुलेन्स भाडा नलिने तयारी गरेको हो।
विशेष अवस्थाका विभिन्न व्यक्ति र उनीहरूका परिवारलाई यो सुविधा दिने गरी तयारी भइरहेको नगरपालिकाले जनाएको छ। नगरपालिकाले अहिले ३ वटा नगर बस सञ्चालन गरिरहेको छ भने २ वटा एम्बुलेन्स नगर मातहत छन्। सेवामा सहजता ल्याउन थप २ नगर बस खरिदको तयारी गरिएको नगरप्रमुख विशाल शर्माले बताए।
उनका अनुसार गर्भवती र सुत्केरी, ७० वर्षमाथिका ज्येष्ठ नागरिक, सशस्त्र द्वन्द्व तथा जनआन्दोलनका घाइते, अपांग, सहिद परिवार र सहिद परिवारका सदस्यहरूले यो सेवा निःशुल्क पाउनेछन्। यसैगरी पूर्ण अशक्त, अति अशक्त भएका व्यक्तिहरू र अति विपन्न परिचयपत्र प्राप्त गरेकालाई पनि निःशुल्क सेवा दिने तयारी गरिएको उनले जानकारी दिए।
नगर बस र एम्बुलेन्समा यात्रा गर्दा निःशुल्क सुविधा लिनका लागि केही सर्त भने अघि सारिएको नगरपालिकाले जनाएको छ। ‘त्यसका लागि निःशुल्क सेवा दिनुपर्ने मनासिव कारण खुलेको सम्बन्धित वडा कार्यालयको सिफारिसपत्र माग गरेका छौं,’ नगरप्रमुख शर्माले भने, ‘गर्भवतीलागि स्वास्थ्य संस्थामै गर्भ चेकजाँच गरेको र सुत्केरीका लागि स्वास्थ्य संस्थामै सुत्केरी भएको प्रमाणपत्र आवश्यक पर्नेछ।’
ज्येष्ठ नागरिकको हकमा पनि नगरपालिकाले प्रदान गरेको परिचयपत्र चाहिने नगरपालिकाले जनाएको छ। त्यस्तै सशस्त्र द्वन्द्व तथा जनआन्दोलनका घाइते तथा अपांगहरूको हकमा पनि उक्त पुष्टि हुने खालको परिचयपत्र चाहिने शर्माले बताए। ‘यी सबै कागजातको संकलन र अभिलेखीकरण चालक र सहचालकले गर्नेछन्,’ उनले भने, ‘उनीहरूबाटै नगरपालिकामा कागजात पेस गर्ने तयारी गरेका छौं।’ समस्यामा रहेकाहरूको सहयोगका लागि नीति तथा कार्यक्रम बनाएर कार्यान्वयनमा लिइएको शर्माले बताए। कान्तिपुर