
सुर्खेत । कालीकोटको तिलागुफा नगरपालिकाका जनप्रतिनिधि तथा सरोकारवालाहरुले नगरपालिकाको शिक्षा नीति कार्यान्वयन र सिकाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन् । सेभ द चिल्ड्रेनको सहयोगमा शिक्षा पत्रकार समूह कर्णाली प्रदेश समन्वय समितिले सोमबार आयोजना गरेको शिक्षा संवादमा जनप्रतिनिधि तथा सरकोकारवालाहरुले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
नगरपालिकामा बनेको शिक्षा नीतिलाई कार्यान्वयन गर्न आपसी सहयोगमा काम गर्ने, विपद् तथा महामारीको अवस्थामा विद्यार्थीको सिकाई निरन्तरताका लागि वैकल्पिक शिक्षाको वातावरण तयार पारी विधी अपनाएर सिकाईलाई निरन्तरता दिने प्रतिबद्धता उनीहरुले जनाएका हुन् ।
नगरपालिकामा अहिले पनि वैकल्पिक शिक्षाको अभ्यास भईरहेको नगरपालिकाका शिक्षा शाखा प्रमुख लिलाराज बमले बताए । ‘अहिले पनि टोलटोलमा शिक्षक राखेर सिकाईलाई निरन्तरता दिईरहेका छौं, यसबाहेक अरु अभ्यास पनि हामीले गरेका छौं,’ शिक्षा शाखा प्रमुख बमले भने ।
उनले यस्तो विपद् तथा महामारीको अवस्थालाई मध्यनजर गरी शिक्षण सिकाईका अरु विकल्प पनि खोज्नुपर्ने औंल्याए । ‘कोभिडको निरन्तरता तथा विपद्ले सिकाईमा पार्ने प्रभावलाई मध्यनजर गर्ने हो भने अहिलेको वैकल्पिक शिक्षाको माध्यमले मात्र पुग्ने छैन,’ उनले भने, ‘अब विकल्पभित्र पनि विकल्प खोज्नुपर्ने बेला भएको छ ।’
नगरपालिकाका मेयर रतन बहादुर शाहीले कतिपय राष्ट्रिय मापदण्डका कारण स्थानीय तहले आफ्नो तरिकाले विद्यालय सञ्चालन गर्न नसकेको बताए । ‘कोभिडमुक्त भएको बेला पनि हामीले आफ्नो तरिकाले विद्यालयहरु सञ्चालन गर्न सकेका थिएनौं, यस्तोमा केही राष्ट्रिय मापदण्डहरुले पनि समस्या निम्त्याएका छन् ।’
उनले नगरपालिकाभित्रका शैक्षिक गतिविधिको निरन्तरता र शैक्षिक गुणस्तरका लागि आफूहरु लागिरहेको बताए । प्रधानाध्यापकहरुसँग नियमित वैठक, शैक्षिक क्यालेण्डर जस्ता गतिविधिहरुलाई निरन्तरता दिने उनले बताए । नगरपालिकाले बनाएको शिक्षा नीति कार्यान्वयनको लागि समुदाय तथा सरोकारवालाहरुसँग समन्वय गरी अगाडि बढ्ने प्रतिबद्धता मेयर शाहीले जनाए ।
नगर शिक्षा समितिका सदस्य नरदीप शाहीले नगरपालिकाले बनाएको शिक्षा नीति व्यापक रहेको बताए । व्यापक शिक्षा नीतिभित्र शैक्षिक गुणस्तर सुधारका बढीजसो विषय समावेश भएकाले यसको कार्यान्वयनका लागि साझेदारी गरी अगाडि बढ्नुपर्नेमा उनले जोड दिए ।
शिक्षा नीतिमा नगरपालिकाको कुल बजेटमध्ये २० प्रतिशत बजेट शिक्षाका लागि छुट्याउने व्यवस्था समावेश गरिएको उनले बताए ।
सेभ द चिल्ड्रेनका शिक्षा व्यवस्थापक आत्माराम भट्टराईले नगरपालिकाले बनाएका शिक्षासँग सम्बन्धित नीति कार्यान्वयनका लागि आवश्यक पर्ने रणनीति, निर्देशिका बनाउन जुट्न आग्रह गरे । यसका लागि संस्थाको तर्फबाट भरपूर सहयोग हुने उनले बताए ।
स्थानीय तहले कोभिड महामारीको अवस्था हेरेर आलोपालो गरी विद्यालयहरु सञ्चालन गर्न उनले आग्रह गरे ।
जिल्ला शिक्षा विकास तथा समन्वय इकाई कालीकोटका प्रमुख महेश देवकोटाले वैकल्पिक सिकाईका लागि जिल्लामा अभ्यासहरु गरिएको बताए । अडियो तथा भिडियोको माध्यमबाट कक्षा सञ्चालनको प्रयास गरिएको उनले बताए ।
उनका अनुसार तिलागुफा नगरपालिकाभित्रका सामुदायिक विद्यालयहरुमा ६ हजार ५६७ जना विद्यार्थीहरु अध्ययनरत छन् । ३३ विद्यालय र २६ बालविकास केन्द्रहरु तिलागुफामा रहेको उनले जानकारी दिए ।
भर्चुअल माध्यमबाट गरिएको संवादमा जिल्लास्थित सरोकारवाला निकायका प्रतिनिधि, तिलागुफा नगरपालिकाका जनप्रतिनिधि, जिल्ला समन्वय समितिका प्रतिनिधि, साझेदार संस्था सेभ द चिल्ड्रेन तथा जिल्लास्थित साझेदार संस्थाका प्रतिनिधिरु, पत्रकारलगायत ४८ जनाको सहभागिता रहेको थियो ।
कर्णाली टाइम्स
मंगलबार, भदौ १, २०७८
