बुधबार, पुस २, २०८२

‘कोभिडले शिक्षामा योजना अनुसार प्रगति भएन’

  
कर्णाली टाइम्स शुक्रबार, भदौ ४, २०७८


सुर्खेत । कोभिड महामारीले निम्त्याएको परिस्थितिका कारण स्थानीय तहले शैक्षिक क्षेत्रमा लक्ष्य अनुसार प्रगति गर्न नसकेको दैलेखको गुराँस गाउँपालिकाका अधयक्ष खेमराज ओलीले बताएका छन् । सेभ द चिल्ड्रेनको सहयोगमा शिक्षा पत्रकार समूह कर्णाली प्रदेश समन्वय समितिले गाउँपालिकामा आयोजना गरेको शिक्षा संवादमा बोल्दै उनले यस्तो बताएका हुन् ।
गएका बर्षहरुदेखि विद्यार्थीको नतिजामार्फत शिक्षामा भएको प्रगति देखाउने उद्देश्यसहित गाउँपालिका लागेको भएपनि महामारीका कारण सफल हुन नसकिएको उनले बताए ।
‘हामीले बोलेर भन्दा पनि गाउँपालिकाका सामुदायिक विद्यालयका विद्यार्थीको नतिजाबाट शिक्षामा कति प्रगति भएको छ भनेर देखाउने योजना बनाएर काम गरिरहेका थियौं, तर महामारीले यो सफल हुन दिएन,’ ओलीले भने, ‘तर पनि हामीले शिक्षा क्षेत्रमा बजेट छुट्याउन कञ्जुस्याइँ नगरेका कारण पहिलेको तुलनामा प्रगति भने भएको छ ।’
साझेदार संस्थाहरुल शैक्षिक गुणस्तरका लागि गाउँपालिकासँग गरेको सहकार्य र शिक्षासँग सम्बन्धित सरोकारवालाहरुको खबरदारीले शैक्षिक प्रगति देखिएको उनले बताए ।
शैक्षिक पूर्वाधार निर्माण, बालवालिकाहरुलाई शैक्षिक सामग्री वितरण जस्ता कुरामा गाउँपालिकाले कञ्जुस्याँइ नगरेको उनले बताए ।
गाउँपालिकाका स्रोत शिक्षक तथा शिक्षाविद् थिरेन्द्र विसीले गाउँपालिकाको शिक्षा नीतिका बारेमा जानकारी गराए । गाउँपालिकाले बनाएको शिक्षा नीतिमा रहेका व्यवस्था, हाल कार्यान्वयनको चरणमा रहेका व्यवस्था र आगामी दिनमा शिक्षा क्षेत्र सुधारका लागि नीतिमा व्यवस्था गरिएको योजनाहरुबारे उनले जानकारी गराए ।
गाउँपालिका भित्रका विद्यार्थीहरुलाई वैकल्पिक सिकाईका लागि टोल शिक्षकको व्यवस्थासँगै स्वअध्ययन सामग्री तयार पारेर वितरण गर्न लागिएको विसीले जानकारी दिए ।
शिक्षा विकास तथा समन्वय इकाई दैलेखका प्रमुख तेजबहादुर थापाले बालवालिकाहरुलाई स्वअध्ययन सामग्री वितरणसँगै वैकल्पिक सिकाईका लागि उपयोगी अन्य प्रविधिको पनि प्रयोग गर्ने गरिएको जानकारी दिए ।
कार्यक्रमका वक्ता भगवति प्राविका प्रधानाध्यापक कल्पना चन्दले गत बर्षदेखि कोभिडले शिक्षामा पारेको प्रभावलाई मध्यनजर गर्दै बालवालिकाको सिकाई निरन्तरताको लागि सहजीकरण गर्ने गरिएको बताईन् ।
आगामी दिनमा पनि यस्तो विपद् वा महामारीले शिक्षामा पार्ने नकारात्मक प्रभावलाई कम गर्न लागीपर्ने उनले जनाईन् ।
जनप्रतिनिधि, शिक्षासँग सम्बन्धित सरोकारवालाहरुको सहभागितामा आयोजना गरिएको शिक्षा संवादमा गुराँस गाउँपालिकाको शिक्षा नीति कार्यान्वयनको अवस्था र वैकल्पिक सिकाईका लागि भएको प्रयासहरुका बारेमा छलफल भएको थियो ।
छलफलका क्रममा सरोकारवालाहरुले शैक्षिक गुणस्तर वृद्धि र नीति कार्यान्वयनमा प्रतिबद्धता जनाएका छन् ।
संवादमा शिक्षक महासंघ दैलेखका सचिव मिनराज भट्टराई, मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपप्राध्यापक महेन्द्र कार्की, सोसेक नेपालका संस्थापक अध्यक्ष हिरासिंह थापा, सहयात्रा परियोजनाका शिक्षा संयोजक उपेन्द्र रावल, भगवति प्राविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष लक्ष्मी कुमारी राना, मालिका माविका शिक्षक खगेन्द्र खत्री, बालविकास शिक्षक सन्तु कुमारी शाहीले आफ्नो भनाई राखेका थिए ।