
सुर्खेत। कर्णाली प्रदेश सभाका तीन जना सांसद्ले नेकपा (एकीकृत समाजवादी)को पक्षमा सनाखत गरेका छन्। बुधवार सुर्खेतस्थित निर्वाचन आयोगको कार्यालयमा पुगेर उनीहरुले समाजवादीको पक्षमा सनाखत गरेका हुन्।
रुकुम पश्चिमकी सांसद देवी ओली, जुम्लाका सांसद पदम बहादुर रोकाया र जुम्लाका सांसद चन्द्र बहादुर शाहीले समाजवादीको पक्षमा सनाखत गरेका हुन्।
एमालेबीच समूहगत विभाजन हुँदा कर्णाली प्रदेश सभामा रहेका २० जना सांसदमध्ये ६ जना माधव समूहमा लागेका थिए।तिमध्ये फ्लोर क्रस गरेका चारजना सांसद्लाई एमालेले हटाईसकेको थियो।
माधव नेपालले पार्टी दर्ता गरेपछि समाजवादीमा बहालवाला सांसद दुईजना मात्र रहेको आँकलन गरिएको थियो। तर एकजना बहालवाला सांसदले पनि समाजवादी रोजेपछि अब कर्णालीमा समाजवादीका तीनजना सांसद पुगेका छन्।
यो संख्या बढ्ने समाजवादीको पक्षमा हस्ताक्षर गरेको चन्द्र बहादुर शाहीले दावी गरे। यस विषयमा अरु सांसदहरुसँग पनि छलफल भईरहेको उनले बताए।
मुख्यमन्त्रीले विश्वासको मत लिँदा फ्लोर क्रस गरी पद गुमाएका प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अम्मर बहादुर थापा पनि समाजवादीको पक्षमा खुलेर लागेका छन्।
शाही, बुढा र थापा प्रदेश सरकारको मन्त्री छन्।
प्रदेश सभाको निर्वाचनमा कर्णालीमा २० सांसद एमालेबाट चुनिएका थिए। तीनजनाले पार्टीले चारजनालाई बर्खास्त गरेपछि यो संख्या झरेर १६ मा पुगेको थियो। बुधवार ३ जनाले समाजवादी रोजेपछि अब कर्णाली प्रदेश सभामा एमालेका सभामुखसहित १३ जना मात्र सांसद छन्।
कर्णाली टाइम्स
बुधबार, भदौ १६, २०७८
