सोमवार, पुस ७, २०८२

विप्लव नेतृत्वको नेकपासँग भएका सहमति कार्यान्वयनका विषयमा छलफल

  
कर्णाली टाइम्स आइतवार, असोज ३१, २०७८


सुर्खेत। नेत्रविक्रम चन्द नेतृत्वको नेकपासँग सरकारले गरेका सहमति कार्यान्वयनका लागि पहल थालिएको छ। गृहमन्त्री बालकृष्ण खाँणले यस विषयमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडु, सचिव उदयराज सापकोटा, महान्यायाधिवक्ता खम्मबहादुर खाती र गृहसचिव टेकनारायण पाण्डेसँग आइतबार छलफल गरेका छन्।
विप्लव नेतृत्वको नेकपासँगको सहमति कार्यान्वयनमा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भएको छ।
सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच २०७७ फागुन २० गते तीन बुँदे सहमति भएको थियो । सहमति गरेको केपी ओली नेतृत्वको सरकारले ती सबै सहमतिको कार्यान्वयन गरिसकेको थिएन।
सहमतिका बाँकी बुँदा कार्यान्वयन गर्ने विषयमा वर्तमान सरकार बनेपछि नेकपाका महासचिव चन्दले प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री खाँण, सत्ता गठबन्धन सम्बद्ध दलहरू माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितलाई छुट्टा–छुट्टै भेट गरी आग्रह गरेका थिए।
त्यसपछि गृहमन्त्री खाँणले आइतबार अहिलेसम्म सहमति कार्यान्वयनका लागि भएका काम र अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गरेका हुन्। मन्त्री खाँणले सहमति कार्यान्वयनका लागि अहिलेसम्म आफूले नेकपाका नेताहरूसँग गरेका वार्ता र उनीहरूका मागबारे जानकारी गराएका थिए।
बैठकमा सहमति कार्यान्वयनका लागि बाँकी रहेका विषयमा फेरि एक पटक छलफल गर्ने र तयारी पूरा भएपछि नेकपाका नेताहरूसँग बसेर टुंग्याउने सहमति भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ।
२०७७ फागुन २० गतेको वार्तापछि तत्कालिन गृहमन्त्री रामबहादुर थापा र नेकपाको वार्ता टोली बीच सहमति पत्रमा हस्ताक्षर भएको थियो ।