
सुर्खेत । आइतबारदेखि लगातार भईरहेको बर्षाले कर्णालीमा मानवीय तथा भौति क्षति गरेको छ । बर्षाका कारण आएको बाढी र पहिरोले विभिन्न ठाउँमा क्षति पु¥याएको छ ।
पहिरोका कारण कर्णाली राजमार्ग ठाउँठाउँमा अवरुद्ध भएको छ ।
कालीकोटको महाबै गाउँपालिका–७ राम्नीमा पहिरोमा परेको एक किशोरीको मृत्यु भएको छ । जुम्लामा एकजना महिला वेपत्ता भएकी छन् ।
राम्नीमा स्थानीय विष्णुलाल अधिकारीको घरमा माथीबाट पहिरो खस्दा उनकी १८ बर्षीया छोरी स्मृति अधिकारीको मृत्यु भएको छ ।भर पूर्ण रुपमा क्षति भएको छ ।
उक्त गाउँका पाँचवटा घरमा आंशिक क्षति पुगेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । गाउँका अरु ६० घर पहिरोको जोखिममा भएकोले ती घरका ढाई सय मानिसलाई सुरिक्षत स्थानमा सारिएको छ ।
उनीहरुलाई राम्नीमै रहेको राम माध्यमिक विद्यालय र स्थास्थ्य इकाईमा सारिएको हो । उक्त स्थानमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, रेडक्रसको टोली राहत र औषधि लिएर पुगेको प्रहरीले जनाएको छ ।
बर्षाका कारण जुम्लाको हिमा नदीमा आएको बाढीमा परि एकजना महिला वेपत्ता भएकी छन् । हिमा गाउँपालिका–६ की ३३ बर्षीया रन्ना शाही नदीले बगाएर ल्याएका दाउरा लिन जाँदा बगेर बेपत्ता भएकी हुन् ।
लगातारको बर्षाका कारण पहिरो आएपछि कर्णाली राजमार्ग अवरुद्ध भएको छ । दैलेख र कालीकोट खण्डका विभिन्न ठाउँमा पहिरो झरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
कालीकोट र दैलेखमा गरी पाँच ठाउँमा आएको पहिरोमध्ये दैलेखतर्फको एक ठाउँको पहिरो पन्छाईएको छ ।
यस्तै पहिरोकै कारण नाग्म–मुगु सडक पनि अवरुद्ध भएको छ । जुम्लाको हिमा गाउँपालिका–१ बुड्कीमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।
जुम्लाको तातोपानी गाउँपालिका–८ टोप्लामा पाँचवटा पानी घट्ट बाढीले बगाएको छ । बिजुलीको पावरहाउस नजिक रहेका ती घट्टहरु बाढीले बगाएको हो । सोही ठाउँमा रहेको झोलुंगे पुल पनि बाढीले बगाएको छ ।
कर्णाली नदीमा आएको बाढीले कर्णाली राजमार्ग अन्तर्गत कालीकोटको जीतेगडादेखि कर्णाली करिडोरलाई जोड्न प्रयोगमा ल्याईएको फेरी बगाएको छ ।
दैलेखको आठविस नगरपालिका–१ रामघाट बजारमा कर्णाली नदीको पानी पस्दा २५ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ । कर्णाली नदीको बहाब एक्कासी बढेर बजारमा पसेपछि वस्ती बाट चार किलोमिटर टाढा सुरक्षित स्थानमा सारिएको हो ।
कर्णाली नदीले सुर्खेतको चौकुने गाउँपालिका–१० बाट कैलाली जोड्ने निर्माणधिन पक्कीपुलको सामग्री बगाएको छ ।
पुलको सरिया, ग्याभिङ तार, मिक्चर मेसिन बगाएको प्रहरीले जनाएको छ ।
