सोमवार, पुस १४, २०८२

विपदबाट क्षति पुगेका भौतिक संरचना तत्काल पुनर्निर्माण गर्ने कर्णाली प्रदेश सरकारको निर्णय

  
कर्णाली टाइम्स शुक्रबार, कार्तिक ५, २०७८

सुर्खेत। कर्णाली प्रदेश सरकारले विपदबाट क्षति पुगेका सार्वजनिक भौतिक संरचनाको तत्काल पुनर्निर्माण गरी सञ्चालनमाम ल्याउने भएको छ।

शुक्रबार बसेको कर्णाली प्रदेश विपद व्यवस्थापन परिषदको वैठकले विपदका कारण अवरूद्ध सडक, पुल, खानेपानी, सिचाइँ तथा विद्युत पूर्वाधारको मर्मतसम्भार गरी तत्काल सुचारू गर्ने निर्णय गरेको हो।

विपदका कारण क्षतिग्रस्त विद्यालय भवन र स्वास्थ्य चौकीका भवनको लगत संकलन गरी पुनःनिर्माणको व्यवस्था मिलाउने, बाढी, पहिरोलगायतको विपदमा परी मृत्यु भएकाका परिवारलाई प्रदेश सरकारले गरेको सामुहिक विपद दुर्घटना बिमाबाट प्राप्त हुने २ लाख रूपैयाँ तत्काल उपलब्ध गराउने निर्णय पनि परिषद्ले गरेको छ।

विपदबाट नोक्सानी भोगेका प्रदेशका कृषकलाई क्षतिपूर्तीको व्यवस्था पनि प्रदेश सरकारले गर्ने भएको छ। अन्नबालीमा भएको क्षतिको एकीन विवरण संकलन गरी कृषकलाई क्षतिपूर्तीको व्यवस्था मिलाउने निर्णय गरिएको हो।

यस्तै विपतबाट पूर्ण रूपमा क्षति भएका घरको विवरण संकलन गरी संघीय र स्थानीय सरकारसँगको समन्वयमा पुनःनिर्माण गर्ने निर्णय पनि प्रदेश विपद् व्यवस्थापन परिषदले गरेको छ।

विपदमा परि घाईते भएकाको उपचार खर्च पनि कर्णाली प्रदेश सरकारले व्यहोर्ने निर्णय विपद व्यवस्थापन परिषदले गरेको छ।