
सुर्खेत । कोभिडका कारण बन्द रहेका विद्यालयहरु भौतिक रुपमा सञ्चालन गर्न कठिनाई भएको छ । बन्द भएका विद्याय कोभिड महामारी कम भएको बेलामा पुनः सञ्चालन गर्न पहल गरिएपनि आवश्यकता अनुसार विद्यालयमा पूर्वाधार नहुँदा चुनौती देखिएको हो ।
विद्यालयमा भवन, पानी, समान पहुँचयुक्त शौचालय जस्ता भौतिक संरचना नहुँदा विद्यालय पुनः सञ्चालन गरिए पनि विद्यालय पुनःसञ्चालन निर्देशिका भएबमोजिम मापदण्ड पूरा गर्न नसकिएको हो ।
सेभ द चिल्ड्रेनको साझेदारीमा शिक्षा पत्रकार समूह कर्णाली प्रदेश समन्वय समितिले दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिकामा आयोजना गरेको शिक्षा संवादमा सहभागीहरुले विद्यालयहरुमा पूर्वाधार पर्याप्त नहुँदा मापदण्ड पूर्ण रुपमा पालना गर्न नसकिएको बताएका छन् ।
चामुण्डाविन्द्रासैनीमा रहेको सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक दुर्गा कुमारी न्यौपानेले कोभिडले बालवालिकाको सिकाईमा नकारात्मक प्रभाव पारेको बताईन् । उनले शहरी क्षेत्रमा भन्दा पनि सिकाईसम्बन्धी वैकल्पिक विधिको पहुँच नभएको ग्रामीण क्षेत्रको शिक्षामा कोभिडले बढी असर पु¥याएको बताईन् ।
‘कोभिड प्रभावले आर्थिक अवस्था कमजोर भएका अभिभावकका छोराछोरी श्रममा लाग्नुपर्ने बाध्यता आईलाग्यो, यसले गर्दा उनीहरु विद्यालयमा फेरि फर्किने सम्भावना कम हुन्छ,’ न्यौपानेले भनिन्, ‘विद्यालय भौतिक उपस्थितिमै पुनः सञ्चालन गर्ने विषयमा पनि निर्देशिका अनुसारको मापदण्ड पूरा गर्न पूर्वाधारको अभाव छ ।’
संवादमा सहभागी शिक्षक नरेन्द्र चौलागाइँले विद्यालय पुनः सञ्चालन गरिए पनि तोकिएको स्वास्थ्य मापदण्ड पालना गर्न सकिने अवस्था नभएको बताए । मापदण्ड पूरा गर्नका लागि आवश्यक पर्ने पूर्वाधार र स्रोतको उपलब्धतामा सरोकारवालाहरुको ध्यान जानुपर्नेमा उनले जोड दिए ।
यस्तो बेलामा पनि कतिपय विद्यालयहरुमा दुईवटा कक्षालाई एकै कोठामा राखेर सञ्चालन गर्नुपर्ने अवस्था कायमै रहेको चौलागाइँले बताए ।
शिक्षक तिलक न्यौपानेले विद्याय पुनः सञ्चालन भएपछि नगरपालिका भित्रका ४० प्रतिशत विद्यालयमा विद्यार्थीको पूर्ण रुपमा उपस्थिति नरहेको बताए । नगरपालिका भित्रका ६० प्रतिशत विद्यालयमा आवश्यकता अनुसार पूर्वाधार नभएकोले सरोकारवालाले ध्यान दिनुपर्ने उनले बताए ।
संवादमा सहभागीहरुले स्थानीय पाठ्यक्रमलाई पूर्णता दिनुपर्ने, शिक्षामा विनियोजित रकम फ्रिज हुने अवस्थाको अन्त्य गर्नुपर्ने, विद्यालयमा खानेपानीको समस्या समाधान, प्रभावकारी अनुगमन गर्नुपर्ने लगायतका विषयमा जोड् दिएका थिए ।
कार्यक्रमका वक्ता विन्द्रासैनी माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष बिरबहादुर शाहीले आफ्नो विद्यालयमा कोभिडपछि स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गरेर नियमित रुपमा विद्यालय सञ्चालन गरिएको बताए ।
चामुण्डाविन्द्रासैनी नगरपालिकाका शिक्षा शाखा प्रमुख दिलिप कुमार सोनीले कोभिडको बेलामा विद्यार्थीलाई वैकल्पिक माध्यमबाट अध्यापन र गृहकार्य गराईएको बताए ।
‘मुख्यम विषयहरुलाई स्थानीय रेडियोमार्फत कक्षा सञ्चालन गरी अगाडि बढाएका थियौं, रेडियो कार्यक्रमको प्रभावकारिता पनि राम्रो रहेको पाईएका छ ।’ उनले भने । अहिले नगरपालिकामा भौतिक रुपमा विद्यालय सञ्चालन गरी सिकाई निरन्तरता दिईएको सोनीले बताए ।
नगर कार्यपालिका सदस्य दिनेश विकले आवश्यकतालाई मध्यनजर गर्दै नगरपालिका भित्रका विद्यालयहरु पूर्वाधार तयार गर्न स्रोत परिचालन गर्ने गरिएको बताए । नगरपालिकाले शिक्षामा विशेष जोड दिएको उनले बताए ।
चामुण्डाविन्द्रासैनीका मेयर सूर्यबहादुर शाहीले माध्यमिक विद्यालयहरुमा अहिले पूर्वाधार निर्माण गर्न नगरपालिका केन्द्रित रहेको बताए । अहिले माध्यमिक विद्यालयहरुमा धेरैजसो पूर्वाधारको समस्या समाधान भएको बताउँदै उनले अब आधारभूत विद्यालयमा पनि पूर्वाधार निर्माणमा जोड दिईने मेयर बताए ।
नगरपालिकाका सबै वडाहरुमा कोभिडको अवस्था हेरेर विद्यालय पुनःसञ्चालन गरिएको मेयर शाहीले बताए ।
कर्णाली टाइम्स
सोमवार, कार्तिक ८, २०७८
