आइतवार, मंसिर ७, २०८२

सेवाग्राहीका समस्या तत्काल हटाउन मुख्यमन्त्री शाहीको निर्देशन

  
कर्णाली टाइम्स बुधबार, कार्तिक २४, २०७८


सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले यातायात व्यवस्था कार्यालय सुर्खेतको आकस्मिक निरीक्षण गरेका छन्। शाहीले सेवाग्राहीसँग छलफल गरी देखिएका समस्या र समाधानको उपायबारे तत्काल पहलकदमी गर्न निर्देशन दिए।
आकस्मिक निरीक्षणमा आएका मुख्यमन्त्री शाहीसँग सेवाग्राहीले अनुसूची फाराम कार्यालयले भर्न नदिएको, दलालमार्फत अनुसूची फाराम भर्दा १५ रुपैयाँ लाग्ने फारामलाई १ सय रुपैयाँ लिने गरिएको, पैसा तिर्नका लागि पनि घण्टौंसम्म लाइनमा बस्नुपर्ने बाध्यता रहेको गुनासो गरेका थिए।
सेवाग्राहीका गुनासा सुनेपछि मुख्यमन्त्री शाहीले अनलाइनमार्फत शुल्क तिर्ने व्यवस्था तत्काल मिलाउन, आवश्यक जनशक्ति प्रदेश सरकारसँग माग गर्न कार्यालय प्रमुख आनन्द चपाईंलाई निर्देशन दिएका थिए। उनले कार्यालय आफैंले गर्न सक्ने न्यूनतम आधारभूत कामहरू पनि नभएको भन्दै तत्काल सुधार र सेवाका कामहरूलाई अघि बढाउन निर्देशन दिए।
मुख्यमन्त्री शाहीले यातायात कार्यालयमा आउने सेवाग्राहीका गुनासा सम्बोधनका लागि सुर्खेतका प्रमुख जिल्ला अधिकारी छवि रिजालसँग पनि छलफल गरेका छन्। उनले यातायात कार्यालय बाहिर अनुसूची फाराम भर्ने प्रयोजनका लागि खोलिएका अवैध पसलहरू तत्काल बन्द गर्न, सवारी साधन र पार्किङको व्यवस्था मिलाउन निर्देशन दिए।