नेपाली कांग्रेसको प्रदेशसभा तथा प्रतिनिधिसभा क्षेत्रीय निर्वाचनमा सुर्खेतमा पौडेल समूह ‘क्लिन स्वीप’ भएको छ । प्रदेश अधिवेशन र केन्द्रीय महाधिवेशनको लागि क्षेत्रीय सभापतिसहित १ सय २५ जना चुनिँदा पौडेल समूहको अवस्था शून्य रह्यो । कांग्रेसको विधानअनुसार एकभन्दा बढी संघीय निर्वाचन क्षेत्र भएको जिल्लामा जिल्ला सभापति लड्नको लागि महाधिवेशन प्रतिनिधि जित्नु अनिवार्य हुन्छ । यस हिसाबले पौडेल पक्षबाट जिल्ला सभापति लड्ने उम्मेदवार पनि छैनन् । संस्थापन समूहमा भने करिब एक दर्जन नेताले सभापतिको लागि दौड सुरु गरेका छन् । उनीहरुले आपूmनिकट मार्फत सामाजिक सन्जालबाट प्रचार सामग्री पोष्ट गरेर माहोल सिर्जना गर्नेदेखि उम्मेदवार बन्नको लागि आन्तरिक लबिइङ थालेका छन् ।
सुर्खेतमा संस्थापन समूहको नेतृत्व महामन्त्री पूर्णबहादुर खड्का र पौडेल समूहको नेतृत्व केन्द्रीय सदस्य हृदयराम थानीले गर्छन् । यस हिसाबले सुर्खेत कांग्रेसको आगामी नेतृत्व महामन्त्री खड्काको हातमा छ । उनले जसलाई उम्मेदवार बनाए, त्यही व्यक्तिले सुर्खेत कांग्रेसको नेतृत्व गर्ने करिब निश्चित जस्तै देखिन्छ । अहिलेको अवस्थामा खड्काले आकांक्षीहरुलाई सही व्यवस्थापन गर्न सकेमा सभापति निर्विरोध हुने अवस्था छ । तर यसको लागि खड्कासामु चुनौतीको चाङ देखिन्छ । खड्कप्रसाद पोख्रेल, यज्ञबहादुर बिसी, टोपबहादु रावत, देवकुमार सुवेदी, नारायणप्रसाद सापकोटा, उपेन्द्रकुमार थापा, कालीप्रसाद शाक्य, श्याम भारती र विष्णुबहादुर खड्का प्रमुख दावेदारको रुपमा रहेका छन् । यी आकांक्षीमध्ये कसको दावेदारी कति बलियो छ त ? कर्णालीटाइम्सले केलाउने प्रयास गरेको छ ।
खड्कप्रसाद पोख्रेल
दुई कार्यकाल सुर्खेत क्षेत्र नं. १ का क्षेत्रीय सभापति रहिसकेका पोख्रेल बलियो दावेदार मानिएका छन् । यसको प्रमुख कारण पूर्वी सुर्खेत (साविक क्षेत्र नं. १) ले अहिलेसम्म जिल्ला सभापति नपाउनु हो । २०४८ सालदेखि सोही क्षेत्रबाट निर्वाचन लड्दै आएका महामन्त्री खड्काले पनि आफ्नो क्षेत्रबाट अहिलेसम्म सभापति बनाउन नसकेको आरोप खेप्नु परेको छ । खड्काका निकै विश्वासपात्रमा पर्ने पोख्रेल क्षेत्र नं. १ का एकमात्र आकांक्षी हुन् ।
यज्ञबहादुर बिसी
१३ औं महाधिवशेनमा झिनो मतान्तरले सभापतिमा हार व्यहोरेको कारण यज्ञबहादुर बिसीमाथि उनको समूहबाट केही सहानुभूति देखिन्छ । तर उनले प्रदेशसभा सदस्य हुँदै प्रदेशको सामाजिक विकासमन्त्री बन्ने अवसर पाएका र पुनः मन्त्री हुने संभावना भएको कारण उनलाई खड्काले थमथम्याउन सक्ने संभावना देखिन्छ । यद्यपि सबैभन्दा सिनियर नेता भएकोले बिसीको नाममा सहमति हुने संभवनालाई नकार्न सकिँदैन । उनी निकटका अनुसार बिसीले आफू नभएको खण्डमा हालका सचिव एवं आकांक्षी टोपबहादुर रावतलाई सभापतिमा लबिइङ गरिरहेका छन् ।
टोपबहादुर रावत
युवा नेता रावतको दावेदारीमा निकै दम देखिन्छ । उनी बहालवाला जिल्ला सचिव हुन् । उनीसँग लोकप्रिय नेता तप्तबहादुर बिष्टको राजनीतिक लिगेसी जोडिएको मान्ने गरिन्छ । पश्चिम सुर्खेतका जनता र कार्यकर्ताले रावतको अनुहारमा विष्टको विम्ब देख्ने गर्छन् । स्वर्गीय विष्ट झैं रावत पनि पश्चिम सुर्खेतको राजनीतिमा निकै भिजेका र बलियो पकड भएका नेता हुन् । उनले साविकको क्षेत्र नं. ३ मा संस्थापन समूहलाई जिताउन निकै संघर्ष गरेका थिए ।
देवकुमार सुवेदी
वीरेन्द्रनगर नगरपालिका मेयर सुवेदी यसअघि अघि संस्थापनइतर समूहमा थिए । उनको प्रवेशले विशेषगरी वीरेन्द्रनगर नगरपालिकामा संस्थापन पक्षको अवस्था बलियो भयो । यसले क्षेत्र नं. २ को परिणामलाई संस्थापनको पक्षमा पार्न निकै सघाउ पु¥यायो । त्यसैले उनले आफूले सभापति पाउनुपर्ने माग गरिरहेका छन् ।
उपेन्द्रकुमार थापा
पञ्चपुरी नगरपालिकाका मेयरसमेत रहेका थापाले सभापतिमा लाइन नपाए पनि उम्मेदवारी दिने घुर्की लगाउँदै आएका छन् । संस्थापन समूहले लालविर भण्डारीलाई क्षेत्रीय सभापतिमा निर्णय गर्दा थापाकै बलमा निर्णय परिवर्तन गरी इन्द्रबहादुर रावललाई बनाइएको थियो । त्यसैले क्षेत्रीय सभापति दिइसकेको अवस्थामा जिल्ला सभापतिको लागि समूहले निर्णय गर्ने अवस्था देखिँदैन ।
नारायणप्रसाद सापकोटा
यसअघि दुईपटक जिल्ला सचिवमा निर्वाचन लडेर हारेको कारण यसपटक सभापति दिनुपर्ने माग सापकोटाको छ । उनले जिल्ला नेतृत्वको लागि आफूलाई तयार पार्न भरखरैमात्र स्थायी शिक्षकबाट अवकाश लिएका छन् । उनी पार्टीको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठाको सदस्यसमेत हुन् ।
कालीप्रसाद शाक्य
१२ औै महाधिवेशनमा सभापतिमा पराजित शाक्यले यसपटक जित्ने अवस्था भएकोले आफ्नो दावेदारी प्रस्तुत गर्दै आएका छन् । उनलाई बिगतमा खड्काले सुकुम्बासी समस्या समाधान आयोगको जिल्ला अध्यक्ष बनाएका थिए । शाक्यलाई प्रदेश समितिको पदाधिकारीमा पनि हेर्ने गरिएको छ ।
श्याम भारती
पूर्वजिल्ला सचिव भारतीले पछिल्लो समय समूह परिवर्तन गरेका हुन् । पार्टी विभाजनको बेला खड्कासँग रहेका उनी थानी समूहबाट १२ औं महाधिवेशनमा सचिव भएका थिए ।
विष्णुबहादुर खड्का
युवा नेता खड्का पनि बलियो दावेदार हुन् । उनले आफ्नो आकांक्षालाई प्रस्तुत गरिनसकेको भए पनि धेरै आकांक्षीबीच तीब्र प्रतिस्पर्धा भइरहँदा सहमतिको उम्मेदवार बन्ने संभावना देखिन्छ । उनी महामन्त्री खड्काका भाइ हुन् । महामन्त्री खड्काको स्थानीय राजनीतिलाई उनले सम्हाल्दै आएका छन् । महामन्त्री खड्काको सफलतामा विष्णुको महत्पूर्ण हात रहेको मान्ने गरिन्छ । महामन्त्रीको भाइ भएकैले आफ्नो नेतृत्व विकासमा अवरोध गरिए आफूमाथि अन्याय हुने भन्दै त्यसो नगर्न उनले आग्रह गर्दै आएका छन् ।
महामन्त्री खड्काले के गर्लान् ?
महामन्त्री खड्कालाई एकजना मात्र उम्मेदवार बनाउनु निकै सकस भए पनि आकांक्षीको व्यवस्थापनमा थुप्रै बिकल्प छन् । उनले एकजजनालाई सभापतिको उम्मेदवार बनाएर अन्यलाई जिल्ला सचिव, उपसभापति र प्रदेश कार्य समितिको पदाधिकारीमा व्यवस्थापन गर्न सक्छन् । स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाको लागि हुने आउँदा निर्वाचनमा पार्टीको तर्फबाट टिकट दिने खड्काको प्रतिवद्धताले पनि आकांक्षीलाई चुप लाग्न बाध्य पार्नेछ । खड्का पदमा नहुँदा पनि उत्तिकै प्रभावशाली नेतामा पर्छन् । लालबहादुर घले, यज्ञबहादुर बिसी, अमृता शाहीजस्ता आफ्नो समूहका बफादार नेतालाई उनले सांसद र मन्त्री बनाएका थिए । अहिले कर्णाली प्रदेश सरकारको नेतृत्व खड्कानिकट जीवनबहादुर शाहीले गरिरहेका छन् । खड्काकै जोडबलमा शाही मुख्यमन्त्री बनेका हुन् । त्यसैले कतिपय आकांक्षीलाई सरकारको तर्फबाट हुने राजनीतिक नियुक्तिमा अवसर दिने प्रस्ताव खड्काले गर्न सक्छन् । संघीय सरकारको तर्फबाट पनि त्यस्तो अवसर दिएर उनले आकांक्षीको व्यवस्थापन गर्न सक्छन् । अहिले महामन्त्री खड्का पार्टी र सरकार (संघीय र प्रदेश सरकार) को सत्तामा छन् । त्यसैले पनि परिस्थिति उनको काबूमा देखिन्छ ।