शनिबार, असार १४, २०८२

नेपाली कांग्रेसको सुर्खेत जिल्ला सभापति बनेका पोखरेल को हुन् ? यस्तो छ- उनको राजनीतिक यात्रा

  
कर्णाली टाइम्स आइतवार, मंसिर १२, २०७८


सुर्खेत। नेपाली काँग्रेसको १४ औं अधिवेशनबाट खड्क पोखरेल सुर्खेत जिल्लाको सभापति बनेका छन्। शनिवार सभापतिमा उम्मेदवारी दिन तोकिएको समयभित्र पोखरेलको एकल उम्मेदवारी परेपछि उनी निर्विरोध सभापतिमा चयन भएका हुन्।

उनी संस्थापन पक्षबाट सभापति बनेका हुन्। संस्थापन समूहबाट सभापतिका अरु आकांक्षीहरुसँग छलफल गरी पोखरेललाई सभापति बनाईएको हो। संस्थापनइतर समूहबाट महाधिवेशन प्रतिनिधि नभएपछि सभापतिका उम्मेदवार नै भएनन्।

यस्तो छ पोखरेलको राजनीतिक यात्रा
यसअघिका दुई कार्यकाल लगातार निर्वाचन क्षेत्रको क्षेत्रीय सभापतिको जिम्मेवारी निर्वाह गरेका पोखरेलको राजनीतिक यात्रा २०३८ बाट सुरु हुन्छ। तर नेपाली काँग्रेसको राजनीति भने उनले २०४६ सालको जनआन्दोलनसँगै सुरु गरेका हुन्।

विक्रम सम्वत् २०२० जेठ १ गते सिम्ता गाउँपालिका–४ सिमलगाउँ (साविकको बजेडीचौर गाविस–९) मा जन्मिएका पोखरेलले २०३८ सालबाट विद्यार्थी राजनीतिबाट राजनीतिक यात्रा सुरु गरेका थिए।

२०४० सालमा उनी बजेडीचौरमा रहेको भानु माध्यमिक विद्यालयमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को अध्यक्ष बनेका थिए। केही समय उनी अखिलको क्षेत्रीय कमिटीमा पनि बसे।

नेपाली काँग्रेसको राजनीति सुरु गर्दा पोखरेल सुर्खेतमा रहेको बहुमुखी क्याम्पसमा अध्ययनरत थिए। त्यतिबेला देशमा जनआन्दोलन चलिरहेको थियो। त्यहीक्रममा जेल परेका पूर्व गृहमन्त्री तथा हालका काँग्रेस महामन्त्री पूर्णबहादुर खड्कासँग उनले भेट्ने अवसर पाए।

‘त्यतिबेला उहाँ जेलमा हुनुहुन्थ्यो, मैंले उहाँसँग भेट्ने मौका पाएँ,’ पोखरेलले भने, ‘एक घण्टाजति उहाँले मसँग राजनीतिक कुरा गर्नुभयो, उहाँकै कुराबाट प्रभावित भएर म काँग्रेसको राजनीतिमा लागेको हुँ।’

पोखरेल नेपाली काँग्रेसमा पनि विद्यार्थी राजनीतिबाटै छिरेका हुन्। २०४६ सालमा उनी नेपाल विद्यार्थी संघमा आवद्ध भए। जनआन्दोलनपछि उनी नेपाल विद्यार्थी संघको इकाई कमिटी सदस्य पनि भए। पोखरेल नेपाल विद्यार्थी संघको इकाई कमिटी सदस्य हुँदा यसभन्दा अघिका सुर्खेतका नेपाली काँग्रेस सभापति कमलराज रेग्मी त्यो कमिटीको सभापति थिए।

त्यसयपछि पोखरेल प्रत्यक्ष रुपमा काँग्रेसको राजनीतिमा आए। ‘त्यसपछि त हालसम्म अनवरत रुपमा सक्रिय भएर नेपाली काँग्रेसको राजनीति गरिरहेको छु,’ उनले भने।

उनी नेपाली काँग्रेसको ११ औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधि बनेका थिए। २०६४ देखि ०६७ सम्म उनी काँग्रेसको सिम्ता सम्पर्क समितिको संयोजक बने। उक्त सम्पर्क समितिले त्यसबेला सिम्ता क्षेत्रका सातवटा साविकका गाविसमा काम गथ्र्यो।

१२ औं महाविधवेशनमा उनी साविकको संविधान सभा निर्वाचन क्षेत्र–१ को सभापति भए। त्यसबेला उनी निर्विरोध सभापति चयन भएका थिए। १३ औं महाधिवेशनमा पनि उनी फेरि सोही क्षेत्रको सभापति भए। त्यतिबेला भने सभापतिका लागि निर्वाचन नै भएको थियो।

पोखरेल आफ्नो राजनीतिक यात्राका क्रममा एकपटक मात्र प्रत्यक्ष निर्वाचनमा लडेका छन्। संघीयतापछि २०७४ सालको स्थानीय तहको निर्वाचनमा सिम्ता गाउँपालिकाको अध्यक्षमा लडेका उनी नेकपा एमालेका उम्मेद्वार कविन्द्र कुमार केसीसँग पराजित भएका थिए।

पोखरेल राजनीतिक रुपमा स्वच्छ छवि भएका ईमानदार नेताका रुपमा परिचित छन्।