शनिबार, असार १४, २०८२

पूर्णबहादुर खड्काको एक्सन कि रिएक्सन?

  
कर्णाली टाइम्स सोमवार, मंसिर १३, २०७८

टिप्पणी

कांग्रेस महामन्त्री पूर्णबहादुर खड्कामाथि लाग्ने एउटा आरोप थियो– उनी केन्द्रमा सफल राजनीतिज्ञको रुपमा स्थापित भए पनि जिल्लामा असफल भए। हुन पनि चाहेर होस् वा नचाहेर, उनले जिल्लाको कांग्रेस राजनीतिमा आफ्नो पकड बनाउन सकेका थिएनन्। उनको आफ्नो संघीय निर्वाचन क्षेत्र (पूर्वी सुर्खेत) मा भने उनको एकछत्र पकड रह्यो। जिल्लाको कांग्रेस सत्तालाई लामो समय नेता हृदयराम थानीले चलाए।

उनी जिल्ला तहमा पार्टीभित्र पक्षधरताको राजनीति गर्नु हुँदैन भन्ने मान्यता राख्थे। यो मान्यतामा उनी १३ औं महाधिवेशनसम्म अडिक थिए। यतिसम्म कि–उतिबेला मतदानस्थलमा पुगेर पनि उनले जिल्ला कार्य समितिको निर्वाचनमा भोट हालेनन्। यसले गर्दा आफैंले समर्थन गरेका सभापतिका उम्मेदवार यज्ञबहादुर बिसी झिनो मतान्तरले पराजित भए।

जिल्लामा उनीसँग प्रतिस्पर्धा गर्ने नेता थानी भने पार्टी निर्वाचनमा मात्र नभई भातृ तथा शुभेच्छुक संघसंस्था, पेशागत संगठन, सामाजिक संघसंस्थाका निर्वाचनमा पनि उत्तिकै सक्रिय भइरहे। उनले जहाँतहीँ आफ्नो टिमका नेता–कार्यकर्तालाई व्यवस्थापन गर्न कसर बाँकी राखेनन्। यसले गर्दा थानीको छबि संगठन तथा टिम निर्माण गर्ने र टिममा आवद्ध नेता–कार्यकर्तालाई संरक्षण गर्ने नेताको बन्यो। खड्का भने जिल्ला तहसम्म टिम निर्माण गर्नु हुँदैन भन्थे। उनी जिल्लामा सँधै साझा (सर्वमान्य) नेता बन्ने प्रयासमा तल्लिन रहिरहे।

१३ औं महाधिवेशनले भने उनको त्यो मान्यतामा परिवर्तन आयो। उनीनिकट नेता कार्यकर्ताले समेत देखिने गरी सक्रिय अभिभावकत्व प्रदान गर्न दवाव दिए। यसले गर्दा १३ औं महाधिवेशनमा आंशिक रुपमा खुलेका खड्काले यसपटक पूरै खुल्नेमात्र होइन, गृहजिल्लामै बसेर रणनीति बनाए। दसैं मनाउन सुर्खेत आएका उनी एक महिना यहीँ बसे। जिल्ला निर्वाचनमा जित्ने निश्चिन भए पनि १३ महाधिवेशनमा झैं तटस्थ बसेनन्। मतदानमै सहभागी भए।

जसको कारण लामो समय पार्टीको जिल्ला सत्ता चलाएको थानी समूह ‘क्लिन स्वीप’ भयो। यो अवस्था आउनुमा कतिपयले खड्काको स्वाभाविक ‘एक्सन’ (क्रिया) को परिणाम ठानेका छन्। किनभने राजनीति गर्ने हरेक व्यक्तिले आफूलाई मजुबत बनाउन आफ्नो समूहलाई बलियो बनाउने प्रयास गर्छ। कतिपय राजनीतिक विश्लेषक भने थानी समूहको अस्वाभाविक राजनीतिक सक्रियतामा खड्काले ‘रिएक्सन’ (प्रतिक्रिया) जनाएको ठान्छन्। किनभने गृह जिल्ला सुर्खेतमा थानीले ‘अति राजनीति गरेको’ भन्दै खड्काले पछिल्लो समय तीब्र असन्तुष्टि व्यक्त गर्ने गरेका थिए।

विगतमा आफैंले सहयोग गरेका केही नेताले समूह परिवर्तन गरेपछि १३ औं महाधिवेशनको पूर्वसन्ध्यामा खड्काले भनेका थिए– अब म फरक ढंगले राजनीति गर्छु। उनले यसको लागि जिल्लामा आफ्नो पक्षमा लाग्ने सशक्त समूह निर्माण गरे। विगतमा आफूसँग रहेर पछिल्लो समय थानीसँग सहकार्य गरेका नेता तत्पबहादुर बिष्ट (स्वर्गीय) लाई आफ्नो समूमा भित्र्याए।

उनीसँगै पश्चिम सुर्खेतका प्रभावशाली युवा नेता टोपबहादुर रावत पनि खड्का समूहमा पुगे। यसले गर्दा साविकको क्षेत्र नं. ३ (पश्चिम सुर्खेत) उनको पडकमा पुग्यो। यज्ञबहादुर बिसी र उपेन्द्र थापा उनको साथमा छँदैथिए। यति गर्दा पनि थानीको प्रभाव क्षेत्र मानिने वीरेन्द्रनगर (सुर्खेत उपत्यका) लाई आफ्नो अनुकूल बनाउन नसकेको खण्डमा खड्का आफ्नो मिसनमा ढुक्क हुने अवस्थामा थिएनन्।

यसको लागि उनले वीरेन्द्रनगरका मेयरसमेत रहेका नगर सभापति देवकुमार सुवेदीलाई आफ्नो समूहमा आवद्ध गराए । विगतमा सँगै रहेर पनि १२ र १३ औं महाधिवेशनमा थानीसँग रहेका पूर्व जिल्ला सचिव श्याम भारती पनि खड्काको समूहमा पुगे। थानीबाट सधैं पीडित भएको गुनासो गर्ने, तर उनको साथ छोड्न नसकेका पूर्व जिल्ला कोषाध्यक्ष गोविन्द कोइराला र पछिल्लो समय थानीसँग निकटता बढाउँदै गएका कालीप्रसाद शाक्य पनि खड्काको समूहमा आवद्ध भए।

लामो समय थानी समूहमा रहेका बालदीप कँडेल, चिङ्गाड गाउँपालिका अध्यक्ष देवबहादुर चन्द र लेकबेसीका उमेश पौडेल पनि खड्कासँग जोडिए। यसरी महामन्त्री खड्काले तितरबितर भएको आफ्नो समूहलाई संगठितमात्र गरेनन्, अर्को समूहका महत्वपूर्ण नेतालाई पनि समेटर जिल्लामा बृहत समूह स्थापित गरे।

यसकै परिणामस्वरुप उनको समूहले दुईतिहाइभन्दा बढी क्षेत्रीय प्रतिनिधि जित्यो। ९ मध्ये ८ स्थानीय तहमा सहजै नेतृत्व जित्यो। ४ वटा प्रदेशसभा निर्वाचन क्षेत्र, २ वटा संघीय निर्वाचन क्षेत्र हुँदै जिल्ला कार्य समितिमा पनि एकछत्र पकड जमायो।

अबको मिसन प्रदेश र केन्द्र
खड्काको मिसन सुर्खेत जिल्लामा मात्र सीमित छैन। उनी आफ्नो गृह जिल्लाजस्तै गृह प्रदेश कर्णालीमा पनि बलियो हुँदै केन्द्रमा आफ्नो समूहको बर्चश्व स्थापित गर्ने मिसनमा छन्। त्यही प्रयास स्वरुप जाजरकोट र रुकुमपश्चिममा संस्थापनइतर समूहमा रहेका बेदराज सिंह र प्रेमप्रकाश ओलीलाई आफ्नो समूहमा भित्र्याएर सभापति बनाएका छन्।

कर्णालीका १० जिल्लामध्ये ८ जिल्लामा उनको समर्थन प्राप्त नेता जिल्ला सभापति भएका छन्। कालीकोट र दैलेखमा मात्र संस्थापनइतरले सभापति जितेका छन्। अब उनी यी दुई जिल्लालाई पनि आफ्नो अनुकूल बनाउने प्रयासमा छन्। यसको लागि अब उनको ध्यान कालीकोटका युवा नेता भूपेन्द्रजंग शाहीमाथि परेको छ।

तरुण दलका महासचिवसमेत रहेका शाहीको आफ्नो गृहजिल्ला कालीकोटका साथै कर्णाली र अन्य जिल्लामा पनि राम्रो प्रभाव छ। सुर्खेतमा थानी समूहको लज्जास्पद पराजयसँगै कर्णालीमा इतर समूहमा शाहीको प्रभाव थप बढेको छ। उनले आफ्नो गृहजिल्लामा आफू पक्षीय नेता अम्मबहादुर शाहीलाई सभापति बनाउनुका साथै आफ्नो पक्षमा बहुमत महाधिवेशन र प्रदेश प्रतिनिधि सर्वसम्मत गराएका थिए। शाहीको यही सफलताले थानीले आफ्नो समूहका अर्का नेता दीपकजंग शाहलाई प्रदेश सभापतिको लागि लविइङ गरिरहेका छन्।

महामन्त्री खड्का भने युवा नेता शाहीलाई समेत आफ्नो पक्षमा लगेर सिंगो कर्णालीलाई आफ्नो पक्षमा पार्ने प्रयासमा छन्। उनी यसमा सफल भएको खण्डमा कर्णालीका १० मध्ये ९ जिल्लाको नेतृत्व उनको साथमा हुनेछ। करिब ३ सय १० महाधिवेशन प्रतिनिधिमध्ये ८० प्रतिशतको समर्थन उनलाई हुनेछ। यसबाट अहिले संस्थापन (सभापति देउवा) समूहमा महाधिवेशनको ‘किङ मेकर’ बनेका खड्काले जिल्ला, प्रदेश हुँदै केन्द्रमा आफ्नो समूह प्रभावशाली उपस्थिति स्थापित गर्ने छन्।

महामन्त्री खड्काले जिल्लाबाटै एक्सन लिएपछि विशेषगरी सुर्खेतको राजनीतिबारे अनेक अड्कल गर्न थालिएको छ। थानीको आगामी राजनीतिक भविष्य के होला? उनले आफूलाई कसरी सम्हाल्लान्? अनि हालको खड्का समूहको समीकरण कसरी अघि बढ्ला? नयाँ जिल्ला कार्य समितिभित्रका रोचकता कस्ता होलान्? यी विषय सुर्खेती जनता र कांग्रेसीको लागि उत्तिकै प्रतिक्षित छन्।