
कांग्रेसमा पारिवारिक लिगेसी संस्थागत रुपमै स्थापित छ । संस्थापक नेताहरु वीपी कोइराला, गणेशमान सिंह, विमलेन्द्र निधि, गिरिजाप्रसाद कोइरालाका सन्तानहरु विरासत धान्नलाई राजनीतिमा सक्रिय छन् । पार्टीका संस्थापकमध्येका एक र लामो समय पार्टीको नेतृत्व गरेका सन्त नेता कृष्णप्रसाद भट्टराईको विरासत धान्ने पारिवारिक सदस्य भने राजनीतिमा देखिएका छैनन् । बरु उनको राजनीतिक लिगेसी कसले धान्ने भन्ने पात्रको खोजी भएको छ । कांग्रेसको १४ औं महाधिवेशनमा उपसभापतिका उम्मेदवार रहेका पूर्णबहादुर खड्कालाई किसुनजीको विरासत धान्नसक्ने पात्रको रुपमा हेरिएको छ ।
कांग्रेस स्थापनामा महत्वपूर्ण योगदान गर्नुका साथै करिब २२ वर्ष (पञ्चायतकालमा कार्यवाहकसमेत) पार्टीको नेतृत्व गरेका भट्टराई जीवनभर अविवाहित रहे । ८६ वर्षको उमेरमा २०६७ फागुन २० मा उनको निधन भयो । कृष्णप्रसाद भट्टराई प्रतिष्ठानका महासचिव उनका भतिजा विनोद भट्टराई विशेष गरी किसुनजीले नेपाली समाजमा सुशासन, लोकतन्त्रप्रतिको अटुट आस्था र सरलता गरी तीनवटा आदर्श छोडेर गएका बताउँछन् । ‘अहिले पनि कांग्रेसमा किसुनजीलाई आदर्श मान्ने नेता–कार्यकर्ताको कमी छैन तर तिनीहरू विभिन्न गुट–उपगुटमा विभाजित भएका छन्,’ उनले भने, ‘अब उहाँको राजनीतिक आदर्शलाई संगठित रूपमा प्रचार–प्रसार गर्ने र विचारलाई प्रवाह गर्ने नेतृत्वको आवश्यकता देखिन्छ ।’

कांग्रेसमा पूर्णबहादुर खड्का, बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, नारायण खड्का, बलबहादुर केसी, दीपकुमार उपाध्याय, रामहरि खतिवडालगायत नेताहरू भट्टराईलाई आदर्श मान्ने र उनको प्रेरणाबाट स्थापित हुनेमा पर्छन् । पार्टी महामन्त्री खड्का बेलाबखत भट्टराई आश्रम बाँडेगाउँ पुग्छन् । पछिल्लोपटक ५ साउनमा बाँडेगाउँ पुगेका उनले त्यहाँबाट भनेका थिए, ‘मेरो राजनीति र जीवन दर्शनका गुरु किसुनजीको आश्रममा, जसको प्रेरणाले यसपटक संविधान र लोकतन्त्रको रक्षा गर्न अकल्पनीय सफलता मिल्यो ।’ खड्कासँगै बाँडेगाउँ पुगेका खतिवडाले उक्त दिनको आश्रम भ्रमण राजनीतिक रूपमा अर्थपूर्ण रहेको बताए । भट्टराईको राजनीतिक उत्तराधिकारीको नेतृत्व खड्काले गरिरहेको उनको भनाइ छ । ‘किसुनजीको आदर्शलाई हामीले कतिसम्म अनुशरण गर्न सक्यौं, त्यो समीक्षाको विषय हुन सक्ला,’ खतिवडाले भने, ‘तर उहाँको भौतिक शरीर नरहे पनि आदर्श र विचार बोक्ने नेता–कार्यकर्ताको कमी छैन ।’
कृष्णप्रसाद भट्टराई प्रतिष्ठानका अध्यक्ष दीपकुमार उपाध्याय भने भट्टराईका हजारौं अनुयायी नेता–कार्यकर्ता भए पनि त्यसलाई संयोजन गर्ने नेतृत्वको अभाव रहेको बताउँछन् । ‘गुटबन्दी र भागबन्डाले पार्टी जर्जर बनेको छ, किसुनजीले जस्तो त्याग गर्न कोही पनि तयार छैनन्,’ उनले भने, ‘यसपालिको महाधिवेशनमा किसुनजीको आदर्शको प्रवद्र्धन र प्रचारप्रसार होस् ।’
पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराई नेपाली राजनीतिमा आदर्शका धरोहर भए पनि उनी कांग्रेसमा स्थापनाकालदेखि नै हुर्केको गुटगत राजनीतिक प्रभावबाट टाढा भने हुन सकेनन् । २०१७ साल अगाडिसम्म कांग्रेसभित्र बलियो गुट कमै थिए । राजा महेन्द्रले बीपी कोइराला नेतृत्वको जननिर्वाचित सरकार अपदस्थ गर्दै शासन सत्ता हातमा लिएपछि कसरी अगाडि बढ्ने भन्नेमा बीपी र सुवर्णशमशेरबीच मनमुटाव देखियो । दुवै नेताको निधनपछि पञ्चायतकालमा दुई धार अन्तरसंघर्ष भयो । गणेशमान सिंह र भट्टराई सत्याग्रहको लाइनमा अडिग रहे भने गिरिजाप्रसाद कोइरालाले व्यवहारवादी राजनीतिका नाममा पञ्चायती चुनावलाई उपयोग गर्ने नीति लिए । २०४६ सालको परिवर्तनपछि कांग्रेसमा गुटगत प्रतिस्पर्धा चरम रूपमा अघि बढ्यो । २०५१ मा पुग्दा बहत्तरे र छत्तिसे समूह खडा भए । छत्तिसे समूहलाई संरक्षण दिने काम भट्टराईले गरे । ‘पार्टीभित्र अन्तरसंघर्ष गर्नुका साथै जीवनको उत्तरार्धमा आफैंले जन्माएको पार्टी छोड्नुपर्ने अवस्था नआएको होइन,’ प्रतिष्ठानका अध्यक्ष उपाध्यायले भने, ‘तर उहाँले आफूले अँगालेका आदर्शलाई कहिल्यै पनि छोड्नु भएन ।’

कांग्रेसको १४ औं महाधिवेशनमा कोइराला परिवारको विरासत बोकेर शेखर कोइराला, गणेशमान सिंहको विरासत बोकेर प्रकाशमान सिंह र महेन्द्रनारायण निधिको विरासत बोकेर विमलेन्द्र निधि सभापतिमा उम्मेदवार बनेका छन् । गिरिजाप्रसाद कोइरालापुत्री सुजाता सिंहको प्यानलबाट उपसभापति लडेकी छिन् । भट्टराईलाई आफ्नो जीवन र राजनीतिको आदर्श गुरु ठान्ने खड्काले शेरबहादुर देउवाको प्यानलबाट उपसभापतिमा उम्मेदवारी दिएका छन् । उनी वर्तमान सत्ता गठबन्धन निर्माण गर्ने र त्यसलाई अगाडि बढाउने महत्वपूर्ण सारथि छन् ।
५ पटक मन्त्री भएका खड्का पार्टीमा केन्द्रीय सदस्य, सहमहामन्त्री र महामन्त्री हुँदै अहिले उपसभापतिको उम्मेदवार बनेका छन् । उनी कांग्रेसमा सादगी, आदर्शवान, कुनै पनि विवादमा नमुछिएका र उच्च नैतिकता बोक्ने नेताको रुपमा परिचित छन् । लामो समय राज्यसत्तामा बसे पनि काठमाडौंमा घरजग्गा नभएका नेतामा पर्छन् । उनी आफ्नो माहिलो भाइ डा. डम्बर खड्काको घरमा बस्छन् । ‘थुप्रै नेताले मन्त्री भएपछि काठमाडौंमा घर सम्पत्ति जोडे, तर उहाँ सधैं शक्तिको केन्द्रमा भएर पनि किसुनजीको आदर्शबाट प्रेरित भएकैले त्यतातिर कहिल्यै लाग्नु भएन,’ उनीसँग निकट प्राध्यापक डा. महेन्द्रकुमार मल्ल भन्छन्, ‘निष्ठा, आदर्श र नैतिकता हराएको अहिले अवस्थामा नेपालको राजनीतिले किसुनजीको माग गरेको छ, जसलाई खड्काले अनुभूति दिलाउन सक्नुहुन्छ ।’
