
सुर्खेत। फोन गर्ने बहानामा मोवाईल चोरी गर्ने दुईजना पक्राउ परेका छन्। आफू जाने स्थानको जानकारी नभएको बहानामा अरुको मोवाईल फोन गर्न सहयोग माग्ने र उक्त मोवाईल लिएर भाग्ने कार्य गरिरहेका वीरेन्द्रनगरका दुईजनालाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले आईतबार पक्राउ गरेको हो।
करिब दुई हप्ता अघिदेखि मोटरसाइकल र स्कुटरमा सवार एक समूहले मोबाइल चोरी गर्ने गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतमा जाहेरी निवेदन परेका छन्।
ती निवेदनका आधारमा खोजतलास गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय सुर्खेतले २ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कनक बहादुर शाहीले जानकारी दिए। उनका अनुसार वीरेन्द्रनगर नगरपालिका १ का १९ बर्षका एकजना र १८ बर्षका एकजना पक्राउ परेका छन्।
उनीहरुले मोवाईल चोरी गर्न प्रयोग गर्ने भे ७ प ३२५२ नम्बरको ‘यामाहा’ मोटरसाइकल पनि नियन्त्रणमा लिइएको छ। पक्राउ परेकामध्येका एकजनाको बुवाले उक्त मोटरसाईकल चलाउँदै आएको प्रहरी निरीक्षक शाहीले बताए।
पक्राउ परेका दुईजनाको साथबाट ‘रियलमी’ र ‘भिभो वाई-२’ मोवाईल बरामद गरिएको छ। ‘हामी भारतबाट आएका हौं, फलाँटे (सुर्खेत पश्चिममा पर्ने गाउँ) घर हो तर हामीलाई त्यहाँको बारेमा थाह छैन भनेर अरुसँग फोन गर्न मोवाईले मागेछन्। अनि भागेछन्,’ शाहीले भने ।
कर्णाली टाइम्स
सोमवार, पुस १२, २०७८
