
सुर्खेत। देशका अधिकांश ठाउँमा वर्षा भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार गए रातिदेखि हल्कादेखि मध्यम वर्षा भएको छ।
देशभर नै पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेकोले हल्कादेखि मध्यम वर्षा भएको महाशाखाले जानकारी दिएको छ। महाशाखाका अनुसार काठमाडौंसहित देशभर वर्षा भइरहेको छ। बिहीबार बिहानसम्म वर्षा हुने सम्भावना रहेको छ।
काठमाडौंमा आज दिउँसो केहीबेर रोकिएर फेरि वर्षा हुने सम्भावना छ। पानी पर्न रोकिएर बादल हटेपछि तापक्रम यो वर्षकै न्यून हुनसक्ने महाशाखाले जनाएको छ।
देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको पनि सम्भावना रहेको विभागको भनाइ छ।
अहिले सक्रिय रहेको मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई–यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन्।
कर्णाली टाइम्स
बुधबार, पुस १४, २०७८
