शनिबार, असार २१, २०८२

कर्णालीका मुख्यमन्त्री शाही काँग्रेस केन्द्रीय सदस्यमा मनोनित

  
कर्णाली टाइम्स आइतवार, पुस १८, २०७८


सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही नेपाली काँग्रेसको केन्द्रीय सदस्यमा मनोनित भएका छन्। आइतबार प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले शाहीलाई केन्द्रीय सदस्यमा मनोनित गरेका हुन्।
नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित)को धारा २१ (१०) अनुसार सभापति देउवाले केन्द्रीय सदस्य मनोनित गरेका हुन्।
मुख्यमन्त्री शाहीसँगै उनले अरु दुईजनालाई पनि केन्द्रीय सदस्यमा मनोनित गरेका छन्। प्रदीप पौडेल र कल्याण कुमार गुरुङलाई पनि केन्द्रीय सदस्यमा मनोनित गरिएको हो।
आइतबार केन्द्रीय सदस्यमा मनोनित शाही र पौडेल १४ औं महाधिवेशनबाट उम्मेदवार बनेर पराजित भएका हुन्। मुख्यमन्त्री शाही पिछडिएको क्षेत्रबाट सहमहामन्त्री लडेका थिए। पौडेल महामन्त्रीमा पराजित भएका थिए।
देउवाले शनिबार पनि १४ औं महाधिवेशनमा भाग नलिएका रामचन्द्र पौडेलसहित १० जना नेताहरुलाई केन्द्रीय सदस्य मनोनित गरेका थिए।