शुक्रबार, असार २०, २०८२

कुन दलबाट को-को बने राष्ट्रिय सभा सदस्यका उम्मेदवार?

  
कर्णाली टाइम्स सोमवार, पुस १९, २०७८


सुर्खेत। आगामी माघ १२ गते हुने राष्ट्रिय सभा सदस्यका लागि विभिन्न पार्टीले उम्मेदवारको टुंगो लगाएका छन्। पदावधि सकिने सदस्य पदमध्ये निर्वाचनबाट चयन गरिने १९ सदस्यका लागि दलहरुले उम्मेदवार तय गरेका छन्।
राष्ट्रिय सभा निर्वाचनका लागि मंगलबार उम्मेदवारी दर्ता गर्नुपर्ने चुनावी कार्यतालिका छ।
काँग्रेसले ६ जना उम्मेदवार तय गरेको छ। सोमबार बालुवाटारमा बसेको सत्तारूढ गठबन्धनको बैठकले राष्ट्रिय सभामा रिक्त १९ पदमध्ये ६ पदमा उम्मेदवार उठाउने निर्णय गरेको हो।
कांग्रेसले संसदीय समिति गठन गरेर त्यसबाट उम्मेदवार तय गर्नुपर्ने भए पनि केन्द्रीय समितिबाटै उम्मेदवार तय गरेको छ।
प्रदेश नम्बर १ मा झापाका गोपालकुमार बस्नेत, बागमतीमा कृष्णप्रसाद पौडेल, गण्डकीमा गोरखाकी कमला पन्त, कर्णालीमा सुर्खेतकी दुर्गाकुमारी गुरूङ, लुम्बिनीमा रूपन्देहीका युवराज शर्मा र सुदूरपश्चिममा कैलालीका नारायण मिश्रलाई उम्मेदवार बनाउने कांग्रेसले निर्णय गरेको छ।
कर्णाली प्रदेशमा काँग्रेसबाट उम्मेदवार बनेकी गुरुङ सहिद यज्ञबहादुर गुरुङको श्रीमति हुन्।
झापाका बस्नेत भने राष्ट्रिय सभा सदस्यमा मनोनीत गर्न राष्ट्रपतिलाई सिफारिस गरेर पनि राष्ट्रिय सभा सदस्य हुन पाएका थिएनन्।
साथै कृष्णप्रसाद कांग्रेसका मुख्यसचिव हुन्। उनी काठमाडौं क्षेत्र नम्बर ७ मा महाधिवेशन प्रतिनिधि पराजित भएका थिए।
कमला पन्त सहमहामन्त्रीमा पराजित भएकी थिइन्। उनी शेखर कोइराला पक्षबाट सहमहामन्त्री उठेकी थिइन्।
नारायण मिश्र सुदूरपश्चिम प्रदेश सभापतिमा बीरबहादुर बलायरसँग पराजित भएका थिए।

यी हुन् एमालेका उम्मेदवार
नेकपा एमालेले पनि राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारको अन्तिम टुंगो लगाएको छ। सोमबार बसेको बैठकले सातै प्रदेशका क्लस्टर अनुसार १९ जना उम्मेदवारको अन्तिम टुंगो लगाएको हो।
यसअघि आइतबारको केन्द्रीय सचिवालय बैठकले चयन गरेको नामलाई आजको बैठकले अनुमोदन गरेको हो। राष्ट्रिय सभा निर्वाचनका लागि पुस २० मा उम्मेदवारी दर्ताकाे समय ताेकिएकाे छ।
एमालेबाट प्रदेश १ मा खुलातर्फ झापाका देवराज घिमिरे, महिलातर्फ झापाकै सुमित्रा भण्डारी, अल्पसंख्यकतर्फ सोलुखुम्बुकी सोनाम गेल्जेन शेर्पालाई उम्मेदवार बनेका छन्।
प्रदेश २ खुलातर्फ धनुषाका असर्फी भिनवार यादव र महिलातर्फ रौतहटका बिना साह उम्मेदवार बनेका छन्। बागमतीमा खुलातर्फ ललितपुरका गोपाल शाक्य र महिलातर्फ सिन्धुलीकी निरकुमारी कुँवर दर्लामी उम्मेदवार छन्।
यस्तै एमालेबाट गण्डकीमा खुलातर्फ कास्कीका पुण्यप्रसाद पौडेल, महिलातर्फ नवलपुरकी लीला पोखरेल थनेत, दलिततर्फ बाग्लुङका गोविन्दबहादुर नेपाली उम्मेदवार छन्। लुम्बिनीमा खुलातर्फ दाङका रामदयाल यादव, महिलातर्फ बाँकेका भारती खनाल र दलिततर्फ गुल्मीका कृष्णबहादुर सुनार उम्मेदवार छन्।
कर्णालीमा खुलातर्फ सुर्खेतका चुँडामणि शर्मा, महिलातर्फ जुम्लाकी गंगा थापा महत र अल्पसंख्यकतर्फ दैलेखका पदमबहादुर माझी उम्मेदवार छन्।
सुदूरपश्चिममा खुलातर्फ डोटीका डिल्लीराज भट्ट, महिलातर्फ कैलालीकी सन्तोषकुमारी शर्मा र दलितमा बैतडिका नरेश बिक उम्मेदवार छन्।

एकीकृत समाजवादीबाट पाँच जना उम्मेदवार

माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले पनि उम्मेदवार टुंगो लगाएको छ। पाँच दलीय सत्तारूढ गठबन्धनमा रहेको एकीकृत समाजवादीले १९ मध्ये पाँच सिट पाएको छ।
समाजवादीका उम्मेदवारमा प्रदेश–१ मा जयन्ती राई (महिला) र बागमतीबाट गोमा तिमल्सिना (महिला) छन्। यस्तै, लुम्बिनीबाट राजेन्द्रलक्ष्मी गैरे (महिला), कर्णालीबाट उदय बोहोरा (खुला) र सुदूरपश्चिमबाट मदनकुमारी (गरिमा) शाह (महिला) छन्।